असार ११, २०८३ बिहिबार June 25, 2026

रास्वपा महाधिवेशन : पदाधिकारीका लागि राति ९ः१५ बजेदेखि मध्यराति १२ः १५ बजेसम्म मतदान हुने

मत परिणाम राति १ः३० बजे सार्वजनिक गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो महाधिवेशनमा पार्टी पदाधिकारीका लागि राति ९ः१५ बजेदेखि मध्यराति १२ः१५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।

निर्वाचन तालिकामा  पाँचौंपटक संशोधन गरी पार्टी पदाधिकारीको मतदान समय गर्ने समय तोकिएको छ ।

पार्टी पदाधिकारी पदको फारम वितरण साँझ ६ः३० बजेदेखि ७ बजेसम्म, उम्मेदवारको प्रारम्भिक नाम प्रकाशन ७ः३० बजे, उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने समय साँझ ८ बजेसम्म, दाबी विरोधमाथि जाँचबुझ गर्ने समय ८ः१५ बजेसम्म रहेको छ।

उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय ८ः३० बजे रहेको छ भने उम्मेदवारको अन्तिम नामावली बेलुकी ८ः४५ बजे सम्म हुने कार्यतालिका छ ।  बेलुका ८ः४५ बजेदेखि ९:१५ बजेसम्म मौन अवधि र ९ः१५ बजेदेखि १२ः१५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

राति १२ः१५ देखि १ः१५ बजेसम्म मतगणना गरी राति १ः३० बजे मतपरिणाम घोषणा हुने कार्यतालिका रहेको छ । उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री चयनका लागि निर्वाचन हुने छ ।

रास्वपाका नेता मनीष झाका अनुसार ६ पदाधिकारीलाई मतदान गर्न एकजना प्रतिनिधिलाई चारदेखि पाँच मिनेट लाग्ने अनुमान छ ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यहरूका लागि भएको मतदानको मत परिणाम आउन बाँकी रहेको छ ।

महाधिवेशनमा केन्द्रिय सदस्यका लागि भएको निर्वाचनमा २ हजार ९ सय ५९ मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ९९ केन्द्रिय सदस्यका लागि भएको निर्वाचनमा खुलातर्फ ६४ सदस्यका लागि २ सय १० जना र भूगोलतर्फ ३५ सदस्यका लागि १ सय ७४ जना गरी कुल ३ सय ८४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

केन्द्रिय निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जना प्रतिस्पर्धा गरेका छन् ।

एउटा प्रदेशबाट पाँच जना निर्वाचित हुने छन् । गएराति १२ बजेपछि सुरु भएको मतदानमा प्रतिनिधिले विद्युतीय मतदान प्रणालीमार्फत मतदान गरेका थिए ।

रास्वपाको केन्द्रीय सदस्य १ सय ५८ जना भए पनि ९९ जना निर्वाचित हुने र बाँकीलाई पछि मनोनीत गरिने रास्वपा विधानमा उल्लेख छ । जस अनुसार ५१ केन्द्रीय सदस्य मनोनीत हुनेछन् भने सातै प्रदेशका सभापति पदेन सदस्यका रुपमा केन्द्रिय सदस्य रहनेछन् ।

विधान अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा आएपछि दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन हुनेछ ।

रास्वपाको विधानमा सभापति, वरिष्ठ नेता, उपसभापति एक जना महिला सहित ३ जना, महामन्त्री २ जना , सहमहामन्त्री १ महिला सहित ५ जना  कोषाध्यक्ष १ जना, सह कोषाध्यक्ष २ जना, एक जना प्रवक्ता र सहप्रवक्ता ३ जना रहने गरी पदाधिकारी बन्ने व्यवस्था छ ।

१९ सदस्यीय पदाधिकारी रहने रास्वपामा ३ उपसभापतिमध्ये १ जना मनोनीत गर्ने व्यवस्था रास्वपाको विधानले गरेको छ । यस्तै, २ महामन्त्रीमध्ये १ जना र  ५ सहमहामन्त्रीमध्ये २ जना मनोनीत हुने व्यवस्था विधानमा छ । पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया