काठमाडौं । नेकपा (एमाले) ले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण, पूर्वाग्रहरप्रेरित र गैरकानुनी रहेको निष्कर्ष निकालेको छ ।
मंगलबार राति पार्टी अध्यक्ष केपी ओलीको निवास गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । बैठकले त्यसको प्रतिवाद गर्ने पनि निर्णय गरेको छ ।
“आज बसेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयको नवौँ बैठकले पार्टीका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी रहेको ठहर गर्दै त्यसको दृढतापूर्वक प्रतिवाद गर्ने निर्णय गरेको छ,” बैठकपछि पोखरेलले फेसबुकमा लेखेका छन् ।
उनले वस्तुपरक तथ्य र प्रमाणबिना गिरफ्तारी गरिएको भन्दै बैठकले निन्दा गरेको पनि जानकारी दिएका छन् । “बिनाकुनै वस्तुपरक तथ्य र प्रमाण, केवल राजनीतिक प्रतिशोध साध्ने कुत्सित मनसायका साथ सम्पत्ति शुद्धीकरणको बहानामा गरिएको गैरकानुनी गिरफ्तारीको पार्टीले राजनीतिक र कानुनी दुवै रूपमा सशक्त प्रतिवाद गर्ने,” पार्टीको निर्णय र निष्कर्षबारे जानकारी दिँदै उनले लेखेका छन् ।
पौडेललाई थुनामा राख्न विशेष अदालतले दिएको आदेश पनि पूर्वाग्रहरप्रेरित रहेको एमाले जनाएको छ । “राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित यस घटनामा विशेष अदालतले पूर्पक्षका लागि थुनामा राख्न दिएको आदेशसमेत न्यायसम्मत नरहेको ठहर गर्दछ,” पोखरेलले भनेका छन् ।
बैठकले पौडेललाई बिनासर्त रिहा गर्न पनि माग गरेको छ ।
“राज्य संयन्त्रको यस प्रकारको निरंकुश, प्रतिशोधपूर्ण र विभेदकारी कदमका विरुद्ध देशव्यापी रूपमा राजनीतिक प्रतिरोध र भण्डाफोर अभियान सञ्चालन गर्न बैठकले सम्पूर्ण पार्टीपंक्ति एवं न्यायप्रेमी जनसमुदायलाई हार्दिक आह्वान गर्दछ,” बैठकपछि पोखरेलले भनेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया