असार ११, २०८३ बिहिबार June 25, 2026

समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको सङ्केत

विद्यार्थी भर्ना प्रक्रिया, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनलाई व्यवस्थित बनाउन एकीकृत कार्यतालिका लागू गरिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिक तथा उच्च शिक्षाको परीक्षा प्रणालीमा उल्लेखनीय सुधार भएको जनाएको छ ।

मन्त्रालयका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १२ तथा विश्वविद्यालयस्तरीय परीक्षाका नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेका छन्, जसले शिक्षा क्षेत्रमा सुशासन र सेवा प्रवाहको प्रभावकारिता बढाएको छ ।

सेवा प्रवाहलाई छरितो र नतिजामुखी बनाउन विद्यार्थी भर्ना प्रक्रिया तथा परीक्षा प्रणाली सुधारका लागि एकीकृत कार्यतालिका बनाएर काम गर्नेदेखि डिजिटल सुशासनको अवधारणलाई प्रभावकारी कार्यान्वयनमा लगेको छ । विद्यार्थी भर्ना प्रक्रिया, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनलाई व्यवस्थित बनाउन एकीकृत कार्यतालिका लागू गरिएको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले बताउनुभयो  ।

शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं २ समेटिएको शिक्षा मन्त्रालयअन्तर्गतको मुख्य काममा विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०ले परीक्षा सम्पन्न भएको मितिले दुई महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने कार्य प्रारम्भ गर्ने लक्ष्य रहेको थियो । उच्च शिक्षातर्फ विश्वविद्यालय तथा सिटिइभिटीले पनि परीक्षा सम्पन्न भएको करिब दुई महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यअनुसार काम गरिरहेका छन् । केही विश्वविद्यालयमा पदाधिकारी रिक्तताका कारण निर्णय कार्यान्वयनमा चुनौती देखिए पनि अधिकांश शैक्षिक संस्थाले कार्यपालिका अनुसार काम गरिरहेको प्रवक्ता सापकोटाले बताउनुभयो ।

शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं २ बमोजिमको मुख्य १० कार्यको प्रगति विवरण मन्त्रालयले अद्यावधि गरेको हो । सोहीअनुसार एसइई २०८२ को नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको छ । यसअघि नतिजा प्रकाशनमा लामो समय लाग्दा विद्यार्थी र अभिभावक अन्योलमा पर्ने गरेका थिए ।

त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनमै सार्वजनिक गरेको छ । अघिल्ला वर्षमा यही नतिजा प्रकाशन हुन करिब तीन महिना लाग्ने गरेको थियो । मन्त्रालयले यसलाई परीक्षा व्यवस्थापनमा आएको सकारात्मक परिवर्तनको उदाहरणका रूपमा प्रस्तुत गरेको प्रवक्ता सापकोटाले बताउनुभयो ।

“डिजिटल सुशासन प्रवर्द्धनअन्तर्गत वैदेशिक अध्ययन अनुमति (एनओसी) प्रक्रियालाई थप सहज बनाउन विश्वविद्यालयको तथ्याङ्क प्रणालीसँग एपिआइ लिङ्क स्थापना गरिएको छ । यसबाट विद्यार्थीको भौतिक उपस्थितिको आवश्यकता घट्ने अपेक्षा गरिएको छ । हाल काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको तथ्याङ्क प्रणालीसँग एपिआइ लिङ्क स्थापना भएको छ”, प्रवक्ता सापकोटाले भन्नुभयो ।

समकक्षता प्रमाणपत्रको ‘भेरिफिकेसन’ प्रक्रिया पनि छिटो बनाइएको उल्लेख गर्दै उहाँले आवश्यक कागजात पूरा भएका आवेदकलाई आवेदन दिएको दिनमै प्रमाणपत्र उपलब्ध गराउन थालिएको बताउनुभयो । उक्त कार्यका लागि यसअघि कम्तिमा दुईदेखि तीन दिन लाग्ने गरेको थियो ।

यसैबीच, शिक्षकहरूको क्षमता विकासका लागि ‘सिकाइ चौतारी’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । एपमार्फत हजारौँ शिक्षकले अनलाइन तालिम तथा अभिमुखीकरण प्राप्त गरिसकेका छन् । मन्त्रालयका अनुसार परीक्षा प्रणाली, डिजिटल सेवा तथा प्रशासनिक प्रक्रियामा गरिएको सुधारले शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहको गुणस्तर बढाउन सहयोग पुगेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया