काठमाडौँ, कात्तिक २२ गते । घरको सुरक्षा होस् वा अपराध अनुसन्धान, प्राकृतिक विपत्तिमा खोजी होस् वा भग्नावशेषमा पुरिएका मानिसको उद्धार । कुकुर मानिसको भरोसायोग्य साथी बन्दै आएको छ । मानिससँगको हजारौँ वर्ष पुरानो सहयात्रामा कुकुरले आफ्नो वफादारी, चनाखोपन र असाधारण सुँघ्ने क्षमताका कारण विशेष स्थान बनाएको छ । यही सम्बन्धको सम्मान गर्दै यमपञ्चकमा कुकुरको पूजा गर्ने परम्परा रहिआएको छ ।
मानिसले गाई, भैँसी, घोडा, भेडा र हात्तीलाई विभिन्न प्रयोजनका लागि पाल्दै आए पनि कुकुरको भूमिका सुरक्षा र सहकार्यमा विशिष्ट छ । घरको रेखदेखदेखि सिकार, पशुधनको सुरक्षा र अपराधी पहिचानसम्म कुकुरले मानिसलाई सहयोग गर्दै आएको छ । पछिल्लो समय कुकुरलाई घरको अभिन्न सदस्यका रूपमा पाल्ने क्रम पनि बढेको छ ।
ज्योतिष पण्डित शम्भुप्रसाद गुरागाईंले कुकुरतिहारको धार्मिक तथा सांस्कृतिक महत्व रहेको बताउनुहुन्छ । कुकुरलाई यमदूत तथा यमराजको प्रिय भक्त मान्ने धार्मिक विश्वास छ । महाभारतमा युधिष्ठिरले आफ्नो भक्त कुकुरलाई साथ नलिई स्वर्ग जान अस्वीकार गरेको प्रसङ्गले पनि कुकुरप्रतिको सम्मानलाई उजागर गरेको उहाँले बताउनुभयो ।
अपराध अनुसन्धानमा विशेष भूमिका
कुकुरको उपयोगिता धार्मिक र घरेलु जीवनमा मात्र सीमित छैन । अपराध अनुसन्धानमा कुकुरको प्रयोग गर्दै आएको नेपाल प्रहरीको केनाइन सेवा पाँच दशकभन्दा लामो समयदेखि सञ्चालनमा छ । नेपाल प्रहरीले २०२६ सालबाट कुकुरलाई अपराध अनुसन्धान तथा खोजी कार्यमा प्रयोग गर्न थालेको हो ।
नेपाल प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रोडर, ककर स्प्यानियल, गोल्डेन रिट्रिभर, बिगल, बेल्जियन मेनोलोइज र डच सेफर्ड गरी विभिन्न प्रजातिका १०६ वटाभन्दा बढी कुकुर छन् ।
प्रहरीका कुकुरलाई ट्र्याकर, विस्फोटक पदार्थ पहिचान, खोज तथा उद्धार र लागुऔषध पहिचान गरी चार विधामा परिचालन गर्दै आएको नेपाल प्रहरी केनाइन कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक बद्रीप्रसाद पौडेलले बताउनुभयो । हत्या, अपहरण तथा बलात्कार जस्ता घटनाको अनुसन्धानमा ट्र्याकर कुकुर प्रयोग गरिन्छ । घटनास्थलमा भेटिएका वस्तु वा व्यक्तिको गन्ध पहिचान गरी अनुसन्धानलाई अगाडि बढाउन कुकुरले सहयोग गर्छ । लागुऔषध पहिचान गर्ने कुकुरले अवैध पदार्थको खोजी गर्छ भने विस्फोटक पदार्थ पहिचान गर्ने कुकुरलाई बम, बारुद तथा अन्य विस्फोटक पदार्थ पत्ता लगाउन प्रयोग गरिन्छ । केनाइन कार्यालयका कुकुरको नस्ल र स्वभाव अनुसार तालिमको विधि निर्धारण गरिन्छ । भारत, थाइल्यान्ड, बेलायत र अमेरिकालगायतका देशबाट नेपालमा कुकुरका छाउरा ल्याइन्छ । पछिल्लो समय नेपालमा उत्पादन भएका कुकुरको पनि प्रयोग गरिँदै आएको छ । छ महिना पुगेपछि तालिम सुरु गरिने कुकुरलाई तीन महिनाको आधारभूत तालिम दिइन्छ । त्यसपछि क्षमता र विशेषताका आधारमा वर्गीकरण गरी जिम्मेवारी तोकिने पौडेलले जानकारी दिनुभयो ।
विपत्तिमा उद्धारकर्ताका सहयोगी
बाढीपहिरो र भग्नावशेषमा पुरिएका वा बेपत्ता भएका मानिसको खोजीमा तालिमप्राप्त कुकुरको प्रयोग प्रभावकारी बन्दै गएको छ । उद्धारकर्मी तथा उपकरण पुग्न कठिन हुने स्थानमा कुकुरको सुँघ्ने क्षमताले खोजी कार्यलाई सहज बनाउँछ ।
भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र चितवनलगायतका क्षेत्रमा नेपाल प्रहरीले केनाइन टोली परिचालन गरेको थियो । रसुवामा जर्मन सेफर्ड जम्बो र बेल्जियन सेफर्ड रक्की, नुवाकोटमा ल्याब्राडोर लियो र कालु तथा चितवनमा जर्मन सेफर्ड दिप्सीलाई खोजी कार्यमा खटाइएको थियो । तीमध्ये उत्कृष्ट कार्य गरेबापत यो वर्ष नुवाकोटमा ल्याब्राडोर लियोलाई उत्कृष्ट कुकुरका रूपमा सम्मान गर्न लागिएको हो । कुकुरतिहारको अवसरमा पाँच वर्षको लियोलाई सम्मान गर्न लागिएको हो । बाढीपछि लियोले लगातार तीन वटा मृत शरीर र तथा धेरैको सङ्ख्यामा मानव अङ्ग पत्ता लगाएको थियो । त्यस्तै पोखरामा कार्यरत टाइसन, हेटौँडामा कार्यरत दिप्सी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सेटा र वेस्ट फिमेल डग फन्नीलाई कार्यक्षमताका आधारमा सम्मान गरिन लागेको हो ।
नेपाल प्रहरी केनाइन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामचन्द्र सत्यालले भग्नावशेष, माटो तथा हिलोमा पुरिएका मानिसको गन्ध पत्ता लगाउन कुकुर प्रभावकारी हुने बताउनुभयो । प्रविधि, तालिमप्राप्त जनशक्ति र केनाइनको संयोजनले खोज तथा उद्धार कार्यलाई छिटो बनाउन सहयोग पुगेको उहाँले उल्लेख गर्नुभयो । नेपाल प्रहरी केनाइन कार्यालयका प्रवक्ता डा. चेतनारायण ज्ञवालीका अनुसार कुकुरलाई लगातार खोजीमा लगाउँदा क्षमतामा असर पर्न सक्ने भएकाले विश्राम दिइन्छ । सामान्यतः ३० मिनेट खोजी गरेपछि १५ देखि २० मिनेट विश्राम दिने गरिएको उहाँले बताउनुभयो । भोटेकोशी बाढीका क्रममा सशस्त्र प्रहरी बलको साम्बा नामक कुकुरले दिएको सङ्केतका आधारमा रसुवामा १८ र नुवाकोटमा दुई गरी २० जनाको शव फेला पारिएको थियो । विपत्तिमा कुकुरको उपयोगिताको यो महत्वपूर्ण उदाहरण हो ।
तालिम, स्याहार र निवृत्त जीवन
अपराध अनुसन्धान र उद्धारमा खटिने कुकुरको क्षमता कायम राख्न नियमित तालिम, उचित खानपान र स्वास्थ्य परीक्षण आवश्यक हुन्छ । नेपाल प्रहरीले तालिमप्राप्त कुकुरलाई जथाभावी खानेकुरा नदिई दैनिक करिब छ सय ग्राम डग फुड खुवाउने गरेको छ ।
कुकुरका छाउरा हुर्काउने, स्याहार गर्ने र तालिम दिने जिम्मेवारी डग ह्यान्डलरलाई दिइन्छ । कुकुर र ह्यान्डलरबिचको सम्बन्धले तालिम तथा कार्यसम्पादनमा महत्वपूर्ण भूमिका खेल्छ । कुकुरको स्वभाव र क्षमताको पहिचान गरी जिम्मेवारी तोक्नु यसको प्रभावकारी प्रयोगको आधार हो । पाँचदेखि १० वर्षसम्म अनुसन्धानमा खटिएका कुकुरलाई निवृत्त गरिन्छ । निवृत्त कुकुरलाई तालिम दिने व्यक्तिले जिम्मा लिन पाउने व्यवस्था छ । उनले लिन नमानेमा नेपाल प्रहरीकै कर्मचारीलाई जिम्मेवारी दिइन्छ । यसले लामो समय सेवा गरेका कुकुरको स्याहार र संरक्षणलाई निरन्तरता दिने व्यवस्था गरेको छ ।
सहरमा बढ्दो कुकुरपालन
मानिसको सुरक्षा, अपराध अनुसन्धान, विपत् उद्धार र भावनात्मक साथसम्म कुकुरको भूमिका विस्तार भएको छ । यमपञ्चकमा गरिने पूजा केवल धार्मिक परम्परा मात्र नभई मानिसको जीवनमा कुकुरले पु¥याउँदै आएको योगदानप्रतिको सम्मान भएको सुमन चौप्रधानले बताउनुभयो । गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया