काठमाडौँ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी एफ.सी.ले न्यूक्यासल युनाइटेड एफ.सी.लाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि होडलाई जीवितै राखेको छ।
म्यान्चेस्टरको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीका लागि निको ओराइलीले १४औँ र २७औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो सुरुआत दिलाएका थिए। न्यूक्यासलका तर्फबाट लेविस हलले २२औँ मिनेटमा एक गोल फर्काए पनि त्यसपछि खेलमा थप गोल हुन सकेन। दोस्रो हाफमा दुबै टोलीले केही राम्रा मुभ बनाए पनि गोलरहित रह्यो।
यो जितसँगै सिटीको २७ खेलबाट ५६ अंक पुगेको छ। समान खेल खेलेको आर्सनल एफ.सी. ५८ अंकसहित शीर्ष स्थानमा छ। पछिल्ला पाँच खेलमा सिटीले चार जित र एक बराबरी गर्दै उत्कृष्ट लय कायम राखेको छ भने आर्सनल दुई जित, दुई बराबरी र एक हारसहित उपाधिका लागि संघर्षरत छ।
उता, उत्कृष्ट चारभित्र रहने प्रतिस्पर्धामा रहेको चेल्सी एफ.सी. ले बर्नलीएफ.सी.सँग १–१ को बराबरी खेलेको छ। खेलको चौथो मिनेटमै जोआओ पेड्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर इन्जुरी समयमा ९३औँ मिनेटमा जियान फ्लेमिङले गोल फर्काउँदै बर्नलीलाई अंक बाँड्न सफल गराए। चेल्सीका वेस्ली फोफानाले डिबक्स बाहिर फल खेलेपछि रातो कार्ड पाएर मैदान छाड्नु परेको थियो। बराबरीपछि चेल्सी ४५ अंकसहित चौथो स्थानमा छ।
त्यस्तै, एस्टन भिल्ला एफसी र लिड्स युनाइटेड एफसी बीचको खेल १–१ को बराबरीमा सकिएको छ। लिड्सका एन्टोन स्टाचले ३१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि ८८औँ मिनेटमा टाम्मी अब्राहमले बराबरी गोल फर्काए। यो बराबरीसँगै एस्टन भिल्ला ५१ अंकसहित तेस्रो स्थानमा छ भने लिड्स ३१ अंकसहित १५औँ स्थानमा रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया