काठमाडौंः तोकिएको समयसीमा भित्र सम्पत्ति विवरण नबुझाउने करिब १२ हजार कर्मचारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ । ६० दिनभित्र सम्पत्ति विवरण नबुझाउनेहरुलाई कारबाही गर्न आयोगले निर्देशन दिएको हो ।
राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त आर्थिक वर्ष २०७५ –०७६ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदनमा आयोगको बैठकमा छलफल गरी यस्तो निर्णय लिइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त सम्पत्ति विवरण अनुगमन प्रतिवेदन आर्थीक वर्ष ०७५-०७६ मा उल्लेख भएका संघीय तहका निजामती कर्मचारी तर्फका दुई हजार ५०४ जना, नेपाल प्रहरीतर्फका १११ जना, शिक्षक तर्फका सात हजार ६ सय १३ जना तथा निजामती, सैनिक, प्रहरी र स्थायी शिक्षक बाहेकका अन्य पदाधिकारी कर्मचारीहरु एक हजार ४३२ जना पदाधिकारी र कर्मचारीहरुले सम्पती विवरण बुझाएका छैनन् । जसमध्ये १३ जना शिक्षकको भने मृत्यु भएको खुलेको छ ।
आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई जनही पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । कानुनको पालना नगर्ने १७ हजार १८५ जना नेता तथा कर्मचारीले पाँच हजार जरिवाना तिर्नुपर्ने भएको छ ।
कानुनलाई चुनौती दिँदै सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक छन् । विदेशमा रहेका नेपाली सेनाका ४६० जनाको हकमा नियमानुसारको अवधिभित्र सम्पत्ति विवरण भर्ने र भराउने व्यवस्थाका लागि सम्बन्धित निकायमा लेखी पठाउन आयोगले भनेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया