काठमाण्डौंः पछिल्ला दिनमा लाइन जाने क्रम बढेपछि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा यसबारे छलफल भएको छ ।
नेपाल विद्युत प्राधिरकणबाट कुलमान घिसिङको बर्हिगमनापछि उपभोक्ताले गुनासो गरेपछि ऊर्जामन्त्री वर्षमान पुन अनन्तले आज प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उप-कार्यकारी निर्देशकहरुलाई मन्त्रालयमा बोलाएर पछिल्लो केही दिनयता विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिए ।
कन्ट्याक्ट ट्रेसिङमा परेपछि ६ दिन होम आइसोलेसनमा बसेर मन्त्रालय फर्किएलगत्तै मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन निर्देशन दिए ।
मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकबिहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा जोड दिए । यस्तै उनले विद्युत जनताको जीवनसँग अभिन्न रुपले जोडिएकाले त्यस्तो संवेदनशील निकायलाई एक मिनेट पनि ढिला गर्ने छुट नभएको उल्लेख गरे ।
उनले कोरोना संक्रमणका कारण विद्यालय र विश्वविद्यालयहरुको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्नसक्नेतर्फ गम्भीर हुनुपर्ने उल्लेख गरे । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं समाधान भएर जाने जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया