असार ९, २०८३ मंगलबार June 23, 2026

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार

पोष्टपेड प्रयोगकर्ताका लागि भने सेवा सञ्चालन गर्न न्यूनतम पाँच हजार रुपैयाँ ब्यालेन्स आवश्यक पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार गरिएको छ ।

कम्पनीका अनुसार विभिन्न देशका ८९ सेवा प्रदायकसँग सम्झौता भएपछि प्रिपेड प्रयोगकर्ताले ६२ देशमा रोमिङ सेवा प्रयोग गर्न सक्ने भएका हुन् ।

चालु आर्थिक वर्षपछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान, घाना, रोमानिया र लाओसका सेवा प्रदायकसँग नयाँ सम्झौता गरिएको छ । साथै पाकिस्तान, बेलारुस र श्रीलंकामा थप सेवा विस्तार गरिएको जनाइएको छ ।

नेपाल टेलिकमले यसअघि नै अष्ट्रेलिया, भारत, जापान, अमेरिका, बेलायत, युएई, सिंगापुर लगायतका देशमा रोमिङ सेवा उपलब्ध गराउँदै आएको छ । यस सेवा अन्तर्गत आवाज, डाटा र सन्देश सेवा प्रयोग गर्न सकिन्छ ।

विदेशमा जाने वा बस्ने नेपालीका लागि यो सेवा उपयोगी रहेको कम्पनीले जनाएको छ । प्रिपेड प्रयोगकर्ताका लागि भारत बाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सञ्चालन हुने व्यवस्था छ । भारतमा भने मोबाइलबाट निश्चित कोड डायल गरी सेवा सक्रिय गर्नुपर्छ ।

पोष्टपेड प्रयोगकर्ताका लागि भने सेवा सञ्चालन गर्न न्यूनतम पाँच हजार रुपैयाँ ब्यालेन्स आवश्यक पर्ने व्यवस्था छ ।

नेपालमै रहँदा वा विदेश पुगेपछि पनि आवश्यक प्रक्रिया पूरा गरी रोमिङ सेवा सक्रिय गर्न सकिने कम्पनीले जनाएको छ ।

रोमिङ सेवा सम्बन्धी समस्या वा जानकारीका लागि कम्पनीले इमेलमार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ । नेपाल टेलिकमले आगामी दिनमा थप देशमा पनि यो सेवा विस्तार गर्दै लैजाने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया