असार ९, २०८३ मंगलबार June 23, 2026

सुदूरपश्चिम बजेटप्रति एमालेको कडा असन्तुष्टि, सत्ता समीकरणमा तरंग

बजेट विनियोजन प्रक्रिया एकलौटी ढंगले अघि बढाइएको आरोप लगाउँदै संयुक्त सरकार सञ्चालनका क्रममा भएका सहमतिहरूको सम्मान गर्न सरकारसँग आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै आवश्यक संशोधन नगरिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ।

प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले संयुक्त सरकारको सहमति, साझा नीति तथा कार्यक्रमअनुसार बजेट निर्माण नभएको निष्कर्ष निकाल्दै बजेट पुनः संशोधन गर्न माग गरेको हो। प्रदेश उपसचिव तथा प्रचार–प्रकाशन विभाग प्रमुख भागरथी विष्टद्वारा जारी विज्ञप्तिमा संयुक्त सरकारका साझेदारबीच भएका सहमति र नीतिविपरीत बजेट ल्याइएको भन्दै असहमति व्यक्त गरिएको छ।

बैठकले बजेटबारे संसदीय दललाई आवश्यक निर्देशन दिने तथा मागअनुसार संशोधन नगरिए संयुक्त सरकारमा सहभागी रहन नसकिने निर्णयसमेत गरेको जनाएको छ। यससँगै सुदूरपश्चिम प्रदेश सरकारको स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ।

धनगढीस्थित प्रदेश कार्यालयमा सम्पन्न बैठकमा प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। बैठकमा जिल्लागत गतिविधिको समीक्षा गर्दै समसामयिक राजनीतिक विषयमा समेत छलफल गरिएको थियो।

एमालेले बजेट विनियोजन प्रक्रिया एकलौटी ढंगले अघि बढाइएको आरोप लगाउँदै संयुक्त सरकार सञ्चालनका क्रममा भएका सहमतिहरूको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ। साथै संघीय बजेटमा सुदूरपश्चिम प्रदेश, दुर्गम क्षेत्र र विपन्न वर्गलाई पर्याप्त प्राथमिकता नदिइएको भन्दै थप बजेट तथा कार्यक्रमको व्यवस्था गर्न माग गरेको छ।

बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतीय भूमि मिचेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेको छ। नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा सीमा स्तम्भ भत्काइएको घटनाको विरोध गर्दै भारत सरकारसमक्ष कूटनीतिक नोट पठाउन पनि सरकारसँग आग्रह गरिएको छ।

त्यसैगरी किसानले समयमै मल नपाएको विषयमा चिन्ता व्यक्त गर्दै सहज रूपमा मल उपलब्ध गराउन माग गरिएको छ भने केही मन्त्रीका अभिव्यक्तिलाई अलोकतान्त्रिक भन्दै संवैधानिक आयोगका पदाधिकारीप्रति भएको व्यवहारको पनि बैठकले भर्त्सना गरेको छ।

बैठकले असार ६ गते धनगढीमा सम्पन्न निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रममा सहभागी पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेतृत्व र सम्पूर्ण नेता–कार्यकर्ताप्रति धन्यवाद ज्ञापन गरेको छ। एमालेको यो निर्णयले सुदूरपश्चिमको सत्ता समीकरणमा नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया