काठमाण्डौंः प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी नियुक्त भएका छन् ।
काउन्सिल सञ्चालक समितिको शुक्रबार बसेको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालले जानकारी दिए।
उनका अनुसार निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकिएको हो ।
साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा काउन्सिल सदस्यमा नियुक्त गरेको थियो । कार्यवाहक अध्यक्ष बुढाथोकीले आजै पदभार ग्रहण गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए ।
निवर्तमान कार्यवाहक अध्यक्ष श्रेष्ठले आजै बोर्डसमक्ष दिएको राजीनामा स्वीकृत गरिएको हो । तीन वर्षअघि तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्तिलाई सर्वोच्च अदालतले रोक लगाएपछि रिक्त अध्यक्षमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिए पनि श्रेष्ठ काउन्सिल सदस्यमा भने असोज १२ गतेसम्म बहाल रहने छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया