कार्तिक २२, २०८३ आइतबार November 8, 2026

पोखरा विश्वविद्यालयमा स्नातकोत्तर तहका लागि छात्रवृत्ति आवेदन खुला

व्यवस्थापन संकायमा छात्रवृत्तिको अवसर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायले स्नातकोत्तर तहका विभिन्न कार्यक्रमका लागि छात्रवृत्ति आवेदन खुला गरेको छ।

विश्वविद्यालयले छात्रवृत्ति सम्बन्धी नियमावली, २०६५ अनुसार निःशुल्क छात्रवृत्तिका लागि इच्छुक तथा योग्य विद्यार्थीहरूबाट आवेदन आह्वान गरेको जनाएको छ।

विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा कुल सिटको २० प्रतिशत र सम्बन्धन प्राप्त कलेजहरूमा १० प्रतिशत सिट छात्रवृत्तिका लागि छुट्याइएको छ। छात्रवृत्ति विशेषगरी सार्वजनिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गरी SEE वा SLC उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरिएको भए पनि संस्थागत विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरूले पनि प्रतिस्पर्धामा भाग लिन सक्ने व्यवस्था गरिएको छ।

छात्रवृत्तिका प्रकारहरूमा खुल्ला, स्थानीय, दलित, जनजाति, दुर्गम क्षेत्र, अपाङ्गता भएका, शहीद तथा आन्दोलनमा घाइते परिवार, शिक्षक–कर्मचारीका सन्तति र मधेसी समुदायका लागि छुट्टाछुट्टै कोटा समावेश गरिएको छ। कुल सिटमध्ये ६० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट र ४० प्रतिशत समावेशी समूहका लागि छुट्याइएको छ। साथै, प्रत्येक कोटामा महिला उम्मेदवारका लागि ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ।

विश्वविद्यालयका अनुसार छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको छनोट योग्यताक्रम (मेरिट लिस्ट) का आधारमा गरिनेछ। पहिलो, दोस्रो र तेस्रो चरण गरी तीन किसिमका सूची सार्वजनिक गरिनेछ। सार्वजनिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई प्राथमिकता दिइनेछ।

आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइन माध्यमबाट हुने जनाइएको छ। सार्वजनिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरूले आवश्यक सिफारिससहित आवेदन दिनुपर्नेछ भने संस्थागत विद्यालयका विद्यार्थीका लागि सिफारिस पत्र आवश्यक नपर्ने बताइएको छ।

रुचि भएका उम्मेदवारहरूले तोकिएको ढाँचामा अनलाइन फाराम भरी आवश्यक कागजातहरू अपलोड गर्नुपर्नेछ। विश्वविद्यालयले समयसीमा भित्र आवेदन दिन आग्रह गर्दै विस्तृत जानकारीका लागि आधिकारिक वेबसाइट वा सम्बन्धित क्याम्पसमा सम्पर्क गर्न अनुरोध गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया