काठमाडौं । सोविता गौतम र नेपालका लागि ड्यानियल म्युली बीच आज शिष्टाचार भेटघाट भएको छ।
सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा भएको उक्त भेटमा राजदूत म्युलीले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
भेटवार्ताका क्रममा नेपाल र स्वीट्जरल्यान्ड बीचको दीर्घकालीन मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो। दुवै पक्षले दुई देशबीचको विकास साझेदारी, आपसी सहकार्य र कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउनेमा जोड दिएका थिए।
यस अवसरमा नेपालको शान्ति प्रक्रिया, कानुनी सुधार र न्यायमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्ने विषयमा पनि विचार आदान–प्रदान भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ।
मन्त्री गौतमले नेपालमा विधिको शासन सुदृढ गर्दै न्याय प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने सरकारको प्रतिबद्धता दोहोर्याइन्। उनले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यबाट न्याय क्षेत्रको क्षमता अभिवृद्धि गर्न सकिने उल्लेख गरिन्।
राजदूत म्युलीले पनि नेपालको शान्ति प्रक्रिया र न्याय क्षेत्र सुधारमा स्वीट्जरल्यान्ड सरकारले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए।
भेटवार्ता आपसी समझदारी, सहयोग विस्तार र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने दिशामा केन्द्रित रहेको जनाइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया