श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

तनहुँमा होमस्टे सर्किट विकास गरिँदै

करिब ७५ किलोमिटर चक्रीय दूरीमा फैलिएको यस सर्किटमा १४ वटा होमस्टे र २० भन्दा बढी गाउँ समेटिनेछन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ), २९ चैतः जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर नेपालको पहिलो घरबास (होमस्टे) सर्किट निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा अघि सारिएको ‘बन्दीपुर-केशवटार होमस्टे सर्किट’ ग्रामीण पर्यटन विकासको नयाँ ढाँचाका रूपमा हेरिएको छ ।

सांस्कृतिक सम्पदालाई मूल आधार बनाई स्थानीय उत्पादन, परम्परा र वातावरणसँग रमाउने समुदायमा आधारित पर्यटनलाई अगाडि बढाउन खोजिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।

कुनै समय व्यापारिक केन्द्रका रूपमा रहेको बन्दीपुर सदरमुकाम दमौली सरेपछि मृत सहरका रूपमा परिचित थियो । अहिले बन्दीपुर पुनः जीवन पाउँदै खुला, जीवन्त सांस्कृतिक सङ्ग्रहालयका रूपमा स्थापित भएको छ । ‘पहाडकी रानी’ उपनामले चिनिने बन्दीपुरले अन्तरराष्ट्रियस्तरसम्म आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । अब होमस्टेमार्फत यहाँको पर्यटन प्रवर्द्धनका लागि थप काम गर्न खोजिएको थापाले बताउनुभयो ।

बन्दीपुर भ्रमण वर्ष २०२५ को सफलतापछि गाउँपालिकाले सन् २०२६ लाई ग्रामीण पर्यटन भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । सोबमोजिम विविध प्राकृतिक, सामाजिक र सांस्कृतिक सम्पदालाई उपयोग गर्दै नयाँ गन्तव्यको विकास गर्ने क्रममा यो सर्किटलाई महत्त्वपूर्ण योजनाका रूपमा अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो ।

करिब ७५ किलोमिटर चक्रीय दूरीमा फैलिएको यस सर्किटमा १४ वटा होमस्टे र २० भन्दा बढी गाउँ समेटिनेछन् । गुरुङ, मगर, नेवारसँगै क्षेत्री, ब्राह्मण र दलित समुदायबाट सञ्चालित होमस्टेहरूले फरकफरक सांस्कृतिक अनुभव प्रदान गर्नेछन् । बन्दीपुर गाउँपालिकाका अधिकांश वडाका साथै व्यास नगरपालिकाको वडा नम्बर १४ यसमा समेटिएको छ । थापाका अनुसार यस सर्किटले होमस्टे सशक्तीकरणसँगै पर्यटनमार्फत ग्रामीण समुदायको आम्दानी वृद्धिमा टेवा पुग्नेछ ।

यस सर्किट विकासका लागि तीन चरणमा कार्यक्रम अघि बढाइएको छ । पहिलो चरणअन्तर्गत चैत १४ र १५ गते पर्यटन तथा संस्कृतिविद्, पर्यटन व्यवसायी र प्राविधिक टोलीले संयुक्त रूपमा क्षेत्रको अध्ययन, अवलोकन तथा प्रत्येक होमस्टे गाउँमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

त्यस्तै नेपाल पर्यटन बोर्ड पोखरासँगको सहकार्यमा आगामी वैशाख १८ र १९ गते आयोजना हुने गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ मार्फत सर्किटको राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गरिनेछ ।

ग्रामीण पर्यटनलाई थप सहज बनाउन गाउँपालिकाले सफारी जीप सेवा पनि सञ्चालनमा ल्याइसकेको छ, जसले गाउँगाउँमा पर्यटकको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको गाउँपालिकाका पर्यटन शाखा प्रमुख सुरज भट्टराईले बताउनुभयो ।

बन्दीपुर-केशवटार होमस्टे सर्किट नेपालकै पहिलो नमूना परियोजनाका रूपमा विकास गर्न खोजिएको र यसले विश्वसामु नेपाली ग्रामीण पर्यटनको नयाँ पहिचान स्थापित गर्ने लक्ष्य लिएको पर्यटनविज्ञ हरिसिंह गुरुङले बताउनुभयो । उहाँले स्थानीय संस्कृति, परम्परा र जीवनशैलीलाई जोगाउँदै पर्यटन विकास गर्नु आजको आवश्यकता भएको बताउँदै यस सर्किटले दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

यसमा बन्दीपुर-२ को मोहोरिया, रामकोट, व्यास-१४ कुलुङ, केशवटार, रुम्सी, बन्दीपुर-६ धरमपानी, व्यास-१२ कमलाबारी, बन्दीपुर-५ कोरिखा, बन्दीपुर सामुदायिक होमस्टे, बन्दीपुरको धरमपानी होमस्टे, ऐतिहासिक हुस्लाङकोट गढी, कमलाबारी, कोरिखा र बन्दीपुर सामुदायिक होमस्टेलगायत समेटिएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनसरी घटनाः सरकार र पीडित परिवारबीच सातबुँदे सहमति
२०८३ श्रावण १५, शुक्रबार
ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन
२०८३ श्रावण १५, शुक्रबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १५, शुक्रबार
राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १५, शुक्रबार
विभिन्न स्थानबाट लागु औषधसहित २५ जना पक्राउ
२०८३ श्रावण १५, शुक्रबार
धार्मिक सद्भाव कायम राख्न प्रहरी आईजीपी दानबहादुर कार्कीको अपिल
२०८३ श्रावण १५, शुक्रबार
सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता
२०८३ श्रावण १५, शुक्रबार