काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई पक्राउ गरी मतियारको रुपमा कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
बलत्कारका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सोमबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघका प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधि मण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठुलो अपराध भएकाले उनीहरुलाई पनि कारबाही गर्न निर्देशन दिएको जानकारी गराएका हुन् ।
यस्तो मिलापत्र गराउनेहरुलाई कारबाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै थापाले आवश्यक परे थप कडा कारबाहीको प्रावधान राख्न कानुन संसोधन गरिने बताए । बलात्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवेदनशिल र गम्भीर रहेको उनको भनाई छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बलत्कारका घटनामा संलग्न अधिकांश आरोपीहरु प्रहरीले पकाउ गरिएको जानकारी दिँदै मिलाउपत्र गराउने कार्यमा संलग्नसमेतलाई कारबाही अघि बढाइएको उल्लेख गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया