जनकपुरधाम । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको अन्तिम दुई खेलमा मधेस प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला मा भएको ४४ औँ खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १ विकेट र वीरगञ्जको नारायणी रङ्गशालामा भएको ४५ औँ खेलमा मधेसले नेपाल पुलिस ४ विकेटले पराजित गरेका हुन् ।
आजका खेलसँगै प्रधानमन्त्री कप अन्तर्गत समूह चरणका सबै खेल सकिएका छन् । शुक्रबार आर्मी र सुदूरपश्चिम प्रदेशबीच उपाधिका लागि खेल हुने भएको छ ।
जनकपुरधाममा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो । लुम्बिनीका लागि रञ्जित खड्काले २८, कप्तान देव खनालले २३, आकाश त्रिपाठीले २१, प्रज्वल थापाले १५, सन्तोष यादवले ११, दिनेश बोहोराले १०, विप्रासोन केसीले ८, दर्श सोनारले ६, निर्मल गुरुङले ४ र सलाहुदिन खानले २ रन बनाएका थिए ।
बलिङमा आर्मी क्लबका तर्फबाट कुशल मल्लले ४, भिम सार्कीले २, नरेन साउदले २ तथा साहाव आलम र वसिर अहमदले समान १–१ विकेट लिएका थिए ।
१३९ रनको लक्ष्य पछ्याएको आर्मीले २५.२ ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाउँदै जीत निकाल्यो । आर्मीका तर्फबाट कुशल मल्लले सर्वाधिक ४१, अर्जुन साउदले २८, भिम सार्कीले १८, इमरान शेखले १६, वसिर अहमदले १२, त्रितराज दासले १०, जितेन्द्र ठकुरीले १० र आकाश चन्दले ४ रन बनाएका थिए ।
बलिङमा लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिँदा निर्मल गुरुङले ४ विकेट लिएका थिए ।
उता वीरगञ्जमा भएको अर्को खेलमा टस जितेर मधेस प्रदेशले नेपाल पुलिसलाई ब्याटिङ गर्न निम्तो दिएकोमा पुलिस क्लबले ४०.३ ओभरमा सबै विकेट गुमाउँदै १३० रन बनाएको थियो । पुलिसको तर्फबाट कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाउँदा शङ्कर रानाले २७, राशिद खानले १८, गुलशन झाले १५, दिनेश खरेलले १५ र अमित श्रेष्ठले ४ रन बनाएका थिए ।
पुलिसको तर्फबाट ब्याटिङ गरेका कप्तान आरिफ शेख, दिलसाद खान, श्रवण यादव र सागर ढकाल शुन्यमा आउट भएका थिए ।
बलिङमा मधेस प्रदेशबाट पवन सराफ, रञ्जित कुमार र आशिक बैठाले समान ३–३ विकेट लिए भने अरनिको यादवले १ विकेट लिए ।
१३१ रनको लक्ष्य लिएर ब्याटिङ गरेको मधेसले २४.१ ओभरमा ६ विकेट गुमाउँदै जीत निकाल्यो । मधेशको तर्फबाट अरनिको यादवले ४ चौक र ६ छक्का सहित ४४ बलमा अविजित ६५ रन बनाउँदा रुपेश सिंहले अविजित २७ रन बनाएका थिए । मधेशका हिमांशु दत्तले १८, मयन यादवले ५, पवन सराफले ४, कप्तान अनिल साहले १ र विशाल सुश्लिङले १ रन बनाए भने मोहमद आदिल आलम शून्यमा आउट भएका थिए ।
बलिङमा पुलिसको तर्फबाट गुलशन झाले ३ विकेट लिँदा सागर ढकालले २ र ललित राजवंशीले १ विकेट लिएका थिए । मधेशका तर्फबाट अरनिको यादव प्लेयर अफ दि म्याच भएका थिए ।
यता प्रधानमन्त्री कप लिक चरणको खेल सकिएसँगै उत्कृष्ट प्रदर्शन गर्ने ६ टिमहरू त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम प्रदेश, एपिएफ, मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल प्रहरीले जय ट्रफी खेल्ने छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया