बैसाख ८, २०८३ मंगलबार April 21, 2026

सिरिज कब्जा गर्ने लक्ष्यमा यूएई, बराबरीको खोजीमा नेपाल

कीर्तिपुरमा आज निर्णायक खेल, नेपाल–यूएई भिडन्त साँझ ५ बजे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ८ गते । संयुक्त अरव इमिरेट्स (युएई) सँग सोमबारको खेलमा हार खेपेको नेपाललाई सिरिज जोगाउन आज युएईलाई हराउनै पर्ने दबाब छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा बराबरी गर्नका लागि नेपाललाई जित आवश्यक छ । वर्षाले विथोलेको खेलमा सोमबार राति नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।

यता सिरिजमा १–० को अग्रता बनाएको युएई दोस्रो जित निकाल्दै सिरिज कब्जा गर्ने दाउमा छ । सोमबार नेपालले १८.५ ओभरमा आठ विकेटको क्षतिमा एक सय २२ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो ।

वर्षापछि डकवर्थ लुइस प्रणालीअनुसार १० ओभरमा छोट्याईएको खेलमा ७८ रनको लक्ष्य पछ्याएको युएईले ८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

युएईका लागि कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाउनुभएको थियो । यस्तै अलिशान सरर्फुले १८ र आकाशदीप नाथले अविजित १७ रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछानेले तीन तथा कुशल मल्लले एक विकेट लिनुभयो ।

यसअघि नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाउनुभएको थियो । कुशल मल्लले १७, कुशल भुर्तेलले १६, अर्जुन साउद र नन्दन यादवले १३/१३ रन बनाउनुभयो ।

बलिङमा युएईका मोहम्मद जुहेबले तीन विकेट लिनुभयो । जुनैद्ध सिद्धिकीले दुई तथा हैदर अलि र मोहम्मद अफ्रानले एक एक विकेट लिनुभयो ।

नेपालले घरेलु मैदानमै हुने आइसिसी विश्वकप लिग–२ को तयारीका लागि युएईसँग सिरिज खेलेको हो । यस सिरिजपछि नेपालले घरेलु मैदानमा वैशाख १२ देखि २२ गतेसम्म ओमान र युएई तथा वैशाख २९ देखि ८ गतेसम्म अमेरिका र स्कटल्यान्डसँग आइसिसी विश्वकप लिग–२ को सिरिज खेल्ने तय भएको छ ।

नेपाल, ओमान र युएईसम्मिलित सिरिज यसअघि अमेरिका र इरान यद्धका कारण खाडीमा देखिएइको सङ्कटाका कारण रोकिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया