बैसाख ११, २०८३ शुक्रबार April 24, 2026

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

पृथ्वीराजमार्गमा चल्ने बस तथा माइक्रोबस हाल नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ११ वैशाखः धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्किङ गरेर सञ्चालन हुँदै आएका बस आजदेखि नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् ।

काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा गत मङ्गलबार महानगरपालिकामा बसेको सरोकारवाला निकायको बैठकले काठमाडौँभित्रका सबै सार्वजनिक यातायातका साधनलाई गोँगबुस्थित नयाँ बसपार्क भित्रबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त बैठकले तीन दिनभित्र सबै सार्वजनिक सवारी साधनलाई अनिवार्य रुपमा नयाँ बसपार्क भित्रबाट सञ्चालन गर्ने निर्णय गरेसँगै आज बिहानैदेखि धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक बस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् ।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि महानगरपालिकाले २०५६ सालमा नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । अधिकाशं जिल्लामा जाने सवारीसाधन नयाँ बसपार्क भित्रबाटै चल्ने भएपनि नुवाकोट, रसुवा र धादिङ जिल्लामा चल्ने सवारीसाधन भने माछापोखरी क्षेत्रमा काउण्टर र पार्किङ बनाएर सञ्चालन गरिँदै आएका थिए ।

काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा नेपालको राष्ट्रिय बसपार्क सञ्चालन भएपनि नुवाकोट, रसुवा तथा धादिङ चल्ने सवारीसाधन भने नयाँ बसपार्क नजिकै रहेको माछापोखरी र बालाजुको सडकबाट चल्ने गरेका थिए । यसअघि गोँगबु चोकदेखि नयाँ बसपार्क बीचको सडकबाट सञ्चालन हुँदै आएका पृथ्वीराजमार्गमा चल्ने बस तथा माइक्रोबस हाल नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् ।

तर, धादिङ, रसुवा र नुवाकोट चल्ने सवारीसाधनका चालकले नयाँ बसपार्कभित्रबाट चलाउन अटेर गर्दै आएका थिए । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जथाभावी रुपमा सडकमा पार्किङ गरेर यातायातका साधन सञ्चालन गरिँदा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या भएको बताउनुभयो ।

लामो दूरीका सवारीसाधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज भएको प्रवक्ता सुवेदीले बताउनुभयो । महानगरको उक्त निर्णय कार्यान्वयन गरेसँगै चक्रपथ वरपर हुने ट्राफिक जाम कम हुने प्रवक्ता सुवेदीले बताउनुभयो ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले नुवाकोट, रसुवा र धादिङ सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई बसपार्कबाट छुट्टै ‘ट्रयाक’को व्यवस्था गरिएकोे बताउनुभयो । यस्तै, उक्त दूरीमा जाने सवारीसाधनका लागि छुट्टै टिकट काउण्टरको समेत व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

यातायात कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा झन्डै २० लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् । पछिल्लो समय राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको सङ्ख्या वृद्धि हुँदा र बाटो विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न एमालेको आग्रह
२०८३ बैसाख ११, शुक्रबार
देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल
२०८३ बैसाख ११, शुक्रबार
सर्लाहीको मलङ्गवामा ११ अवैध स्वास्थ्य संस्था सिल, सञ्चालक फरार
२०८३ बैसाख ११, शुक्रबार
धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने
२०८३ बैसाख ११, शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा
२०८३ बैसाख ११, शुक्रबार
लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै
२०८३ बैसाख ११, शुक्रबार
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
२०८३ बैसाख ११, शुक्रबार