असार २२, २०८२ आइतबार July 6, 2025

भारतीय सहायतामा ऋणको भारी बढेको बढ्यै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भौगोलिक रूपमा सहज आवतजावत गर्न सकिने छिमेकी भारतसित नेपालको सामाजिक र व्यापारिक सम्बन्ध जति निकट छ, नेपालको विकासमा पनि भारतले त्यत्ति नै सहयोग पुर्याइरहेको आम बुझाइ छ । तर, तथ्यले भने त्यस्तो देखाउँदैन ।

पछिल्ला वर्षहरूमा भारतले नेपालको विकासका लागि उपलब्ध गराउने सहायतामा अनुदानभन्दा ऋणको परिमाण बढी भएको तथ्यांकले देखाउँछ । भारतले सहायतामा ऋणको भार बढाएको छ ।

अर्थ मन्त्रालयका अनुसार भारत नेपाललाई अनुदान सहयोग उपलब्ध गराउनेमा प्रमुख पाँच स्थानभित्र समेत पर्दैन । तर, ऋण दाताको सूचीमा भने प्रमुख चौथो स्थानमा छ । प्राविधिक सहयोगमा पनि भारत प्रमुख पाँच देशभित्र परेको छैन । द्विपक्षीय व्यापारमा नेपाललाई आफ्ना उत्पादन निकासीको एक प्रमुख गन्तव्य बनाएर लाभ लिइरहेको भारतले विकास सहायताका नाममा ऋणको भारी बोकाउने रणनीति लिएको जानकारहरूको बुझाइ छ ।

गतवर्ष अर्थात् सन् २०१८/१९ मा भारतबाट कुल ५ करोड ८९ लाख ४४ हजार अमेरिकी डलर बराबरको विकास सहायता आएकोमा ऋणको परिमाण ४ करोड ५९ लाख ५५ हजार डलर छ ।

सहायतामध्ये अनुदान १ करोड ५ लाख ८० हजार डलर रहेको अर्थ मन्त्रालयको तथ्यांक छ । गतवर्ष भारतबाट २३ लाख ८ हजार ८ सय ५३ डलर बराबरको प्राविधिक सहायता प्राप्त भएको देखिन्छ ।

गत १ वर्षमा भारतबाट नेपालको विकासका नाममा आएको रकममा ऋणको परिमाण ७८ प्रतिशत छ । अनुदान, प्राविधिक सहायता क्रमशः १८ र ४ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, भारतले प्रदान गरेको ऋण सहायतामा चारओटा परियोजना सञ्चालनमा छन् । नेपाल गृह पुनर्निर्माण परियोजनाअन्तर्गत भारतले गोरखा र नुवाकोटमा १ करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने लक्ष्य राखेको छ । यी बहुवर्षीय योजना हुन् । सन् २०१७ मा शुरू हुने भनिएका यस्ता परियोजनामा आर्थिकभन्दा पनि सामाजिक र प्राविधिक सहयोगको अंश बढी छ ।

आर्थिक सर्वेक्षण २०७६/७७ ले नेपालको अर्थतन्त्रमा आएको सुधार, प्रतिव्यक्ति आयमा वृद्धि र पुनर्भुक्तानी क्षमता बढेकाले वैदेशिक सहायतामा अनुदानको परिमाण घटेको उल्लेख छ । तर, अर्थशास्त्रीहरू भने यो सरकारी तर्कमा सहमत छैनन् । ऋण दिने मुलक र रकम बढ्नु चिन्ताको विषय भएको अर्थशास्त्री प्राडा. विश्वम्भर प्याकुरेल बताउँछन् ।

‘ऋण त एक प्रकारले सेतो हात्ती हो । दिनेले आफ्ना शर्त राखेर दिन्छन् । त्यसलाई उपयोग गर्न सकिएन भने यो अर्थतन्त्रका लागि खतरा हो,’ प्याकुरेलले आर्थिक अभियानसँग भने ।

बितेका १५ वर्षमा कुल गार्हस्थ्य उत्पादनमा सार्वजनिक ऋणको अनुपात २५ प्रतिशतको हाराहारीमा रहेकोमा अहिले बढेर ३३/३४ प्रतिशतसम्म पुगिसकेको भन्दै अर्थशास्त्री प्याकुरेल अहिले कोरोना महामारीका कारण माग र आपूर्ति खुम्चिएका बेला आर्थिक प्रोत्साहनका प्याकेज ल्याएर भए पनि अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताउँछन् । बहुपक्षीय निकायसँग लिएको ऋणभन्दा द्विपक्षीय ऋण बढी जोखिमपूर्ण हुने अर्थशास्त्री डा. पोषराज पाण्डे बताउँछन् । नेपालले भारत र चीनजस्ता छिमेकी देशबाट लिएको ऋण तिर्न नसक्दा त्यसबाट कूटनीति प्रभावित हुनसक्ने चिन्ता पाण्डेको छ । अभियानबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार