असार २२, २०८२ आइतबार July 6, 2025

नियुक्तिले नेकपामा फेरि खटपट !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पार्टी र सरकारबीच समन्वय मिलाउने तीन साताअगाडिको पार्टी निर्णयलाई चुनौती दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक महत्वपूर्र्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा पुनः खटपट सुरु भएको छ ।

स्थायी कमिटी निर्णय र सचिवालयको छलफलअनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल जारी रहेकै वेला प्रधानमन्त्री ओलीले बिहीबार राजनीतिक नियुक्तिसम्बन्धी महत्वपूर्ण निर्णय लिएका छन् ।

केन्द्रीय सचिवालयमा राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाउने एजेन्डा थाती रहेकै वेला मुख्यसचिवसहित तीन मुलुकमा राजदूत नियुक्ति गरेपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मनमुटाव भएको छ । पार्टीको निर्णयबाहिर गएर प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति गरेको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयका अन्य नेताहरूसँग समेत संवाद गरेका छन् ।

प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेता नियुक्तिसम्बन्धी सरकारको पछिल्लो निर्णयप्रति असन्तुष्ट छन् । अब बस्ने पार्टी बैठकमा यसलाई छलफलको विषय बनाउनेबारे नेताहरूबीच टेलिफोन संवाद भएको प्रचण्डनिकट स्रोतले बताएको छ । ‘अचानक र नाटकीय रूपमा गरिएका नियुक्ति पार्टी स्थायी कमिटीको निर्णयको म्यान्डेन्टभन्दा बाहिर छन् । पार्टी बैठकमा यो विषयमा पक्कै छलफल हुन्छ,’ सचिवालयका एक सदस्यले भने ।

ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्ति तथा संवैधानिक नियुक्तिको मापदण्ड र मोडालिटीबारे लगातार चलिरहेको छलफल सकारात्मक निष्कर्षमा नपुगेकै वेला प्रधानमन्त्री ओलीले एकैपटक महत्वपूर्ण नियुक्ति लिएका छन् । ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने’ स्थायी कमिटी निर्णयविपरीत प्रधानमन्त्रीले मुख्यसचिव र तीन मुलुकमा राजदूत नियुक्त गरेको असन्तुष्ट नेताहरूको भनाइ छ ।

प्रचण्ड, नेपालसहितका नेताहरूले पार्टी स्थायी कमिटीको म्यान्डेटविपरीत धमाधम राजनीतिक नियुक्ति हुन थाल्नु पार्टी एकतालाई कमजोर बनाउने प्रयास सुरु भएको अथ्र्याएका छन् । सचिवालयका सदस्यहरूको सुझाब, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने स्थायी कमिटीको निर्णयबाहिर सरकारका पछिल्ला नियुक्ति भएको असन्तुष्ट नेताहरूको मत छ । गत २६ भदौको सकिएका स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् पुनर्गठनमा कुरा नमिलेपछि दुई दिनदेखि ओली–प्रचण्डबीचको भेटघाटसमेत रोकिएका वेला सरकारले बिहीबार मुख्यसचिव र तीन मुलुकमा राजदूत नियुक्त गरेको हो । मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा परराष्ट्रसचिव शंकरदास बैरागीलाई नियुक्ति गरेको छ । त्यस्तै, अमेरिकाका लागि नेपालको राजदूतमा पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई नियुक्ति गरिएको छ । बेलायतको राजदूतमा निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाको राजदूतमा नेकपाका केन्द्रीय सदस्य डा. निर्मल विश्वकर्मा नियुक्त भएका छन् ।

एक महिनाकै बीचमा खतिवडालाई महत्वपूर्ण नियुक्ति दिइएको भन्दै नेकपाभित्र असन्तुष्टि देखिएको छ । २० भदौमा अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्रीले २९ भदौमा मन्त्रीसरहको जिम्मेवारीमा विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । पछिल्लो जिम्मेवारी पाएको तीन साताकै बीचमा खतिवडा अमेरिकाजस्तो महाशक्तिशाली राष्ट्रमा राजदूतका लागि सिफारिस भएका छन् ।

यद्यपि, कृषि तथा वन, पोखरा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति नियुक्तिमा भने पार्टी सचिवालयबाट मापदण्ड बन्नुअघि नै प्रचण्डले प्रधानमन्त्री ओलीसँग भागबन्डामा सहमति गरेका थिए । भागबन्डाअनुसार तीनवटै विश्वविद्यालयमा उपकुलपति नियुक्त भइसकेका छन् । उपकुलपतिबारे पनि पार्टीभित्र छलफल नभई प्रचण्डले नियुक्तिमा सहमति जनाएकोमा नेपाल, खनालसहितका स्थायी समितिका थुप्रै नेता असन्तुष्ट छन् ।

नेपालले पार्टी विवाद समाधानका सन्दर्भमा दुई अध्यक्षबीच स्थायी समितिबाटै कार्यकारी अधिकार बाँडफाँड भएकाले पार्टी सञ्चालनमा प्रचण्डको कार्यकारी अधिकारको परीक्षण सुरु भएको बताउँदै आएका थिए । तर, विधि र पद्धतिअनुसार पार्टी र सरकारको सञ्चालन गर्ने अडानमा बस्न नसक्दा प्रधानमन्त्री ओलीले प्रचण्डको कमजोरीमा खेल्दै आएको नेपाल र खनालको बुझाइ छ ।

स्वार्थ मिल्दा ओलीकै प्रस्तावलाई समर्थन गर्ने, स्वार्थ नमिल्नेबित्तिकै विरोध गर्ने प्रचण्डको कार्यशैलीप्रति अझै आश्वस्त हुन नसकिएको नेपाल, खनाल, श्रेष्ठलगायत नेताहरूको बुझाइ छ । प्रचण्डको यस्तो कमजोरीको फाइदा उठाएरै प्रधानमन्त्रीले पार्टीले मापदण्ड बनाउनुअघि नै धमाधम राजनीतिक नियुक्ति गर्न थालेको सचिवालयकै एक नेताले बताए ।

तर, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले भने दुई अध्यक्ष नियमित छलफलमै रहेका कारण कुराकानी नै नभई नियुक्ति भए भन्न नमिल्ने बताए । ‘दुई अध्यक्षहरू लगातार छलफलमै हुनुहुन्छ, त्यसकारण उहाँहरूबीच कुनै कुराकानी नै भएन होला भन्न मिल्दैन, क्याबिनेटमा पनि सबै साथी हुनुहुन्छ, त्यहाँ पनि कुराकानी भएकै होला,’ नेम्वाङले नयाँ पत्रिकासँग भने ।

सरकारका पछिल्ला कामबारे प्रश्न उठाउनुको अर्थ भर्खरै समाधान भइसकेको विवाद उछाल्ने र पार्टी एकतालाई झन् कमजोर तुल्याउने प्रयास मात्रै हुने ओलीनिकट नेताहरूको भनाइ छ । दुई अध्यक्षबीच कार्यकारी अधिकार बाँडफाँड भइसकेको र प्रधानमन्त्रीले प्रचण्डसँग परामर्श गरेर सरकारसँग जोडिएका निर्णय गर्न थालेको ओलीनिकट नेताहरूको दाबी छ । नयाँपत्रिका दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार