बैसाख २४, २०८३ बिहिबार May 7, 2026

काम गर्न सकिने योजना मात्र छनोट गर्नुहोस्ः मुख्यमन्त्री

विकासका लागि वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउनुपर्ने भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काँक्रेविहार (सुर्खेत), २३ वैशाखः कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा काम गर्न सकिने मात्र छनोट गर्न आग्रह गनुभएको छ ।

प्रदेश समन्वय परिषद्को सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित कार्यक्रमको समापन कार्यक्रममा मुख्यमन्त्री कँडेलले आगामी वर्षको बजेट एक प्रतिशतले वृद्धि गर्ने तयारीमा रहेको बताउनुभयो । परम्परागत सोच बदल्नुपर्ने भन्दै उहाँले संरचनात्मक सुधारबिना लक्ष्यमा पुग्न नसकिने उल्लेख गर्नुभयो ।

आर्थिक रुपमा बलियो हुँदै आफूले पाएको अधिकार प्रयोग गर्नतर्फ स्थानीय तह तथा प्रदेश सरकार लाग्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिनुभयो । संविधानले दिएको अधिकार र जिम्मेवारीअनुसार प्रदेश तथा स्थानीय तहले समन्वयमा काम गर्दै आर्थिक आधार बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषि, पर्यटन, जलस्रोत, उद्योग र सेवा क्षेत्रलाई आयआर्जनको मुख्य आधारका रूपमा विकास गर्नुपर्छ । प्रदेश र स्थानीय तहबीचको सहकार्यबाट मात्रै आर्थिक समृद्धि सम्भव हुन्छ ।”

विकासका लागि वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउनुपर्ने भन्दै मुख्यमन्त्री कँडेलले सङ्घीयता कार्यान्वयनको मूल मर्मअनुसार तीन तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वय आवश्यक रहेको बताउनुभयो । आगामी तीन वर्षको बजेट, चालु आर्थिक वर्षको खर्चको विवरण, सङ्घीय सरकारबाट प्राप्त अनुदान, राजस्व र आयोजना कार्यान्वयनको अवस्था हेरेर एक प्रतिशत बजेट बढाएको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया