बाँके । दोस्रो ‘नेपालगन्ज १० म्युजिक नाइट रन’को उपाधि नेपाली सेनाका अक्कल बहादुर पाल र धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणित रुटमा सम्पन्न प्रतियोगिताले नेपालगन्जलाई फेरि एकपटक खेल र साङ्गीतिक उत्सवको केन्द्र बनाएको छ।
वर्ल्ड रनिङको आधिकारिक संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणीकरण गरिएको रुटमा शनिबार राति भएको रोड रेसमा १० किलोमिटर खुला पुरुषतर्फ अक्कलले ३२ मिनेट १८ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हात पारे। भुपेन्द्र सुनार ३३ मिनेट ०४ सेकेन्डका साथ दोस्रो हुँदा बाँकेको नरैनापुरका अरविन्द यादव ३३ मिनेट ०८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो बने।
महिला १० किलोमिटर दौडतर्फ धादिङकी सन्तोषी श्रेष्ठले ३९ मिनेट ०९ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै उपाधि जितिन्। बाँकेको कोहलपुरकी दीपशिखा शाही ४४ मिनेट ५८ सेकेन्डका साथ दोस्रो भइन् भने नरैनापुरकी गीता साहु ५२ मिनेट २६ सेकेन्डमा तेस्रो स्थानमा रहिन्। गीता पहिलो संस्करणकी विजेता हुन्।
सङ्गीत र खेलकुदमार्फत सामाजिक एकता, स्वस्थ समाज तथा रात्रिकालीन बजार प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा भेट्रान (४५ वर्षमाथि) १० किलोमिटर दौडको उपाधि बाँकेको खजुराका ५५ वर्षीय भरत श्रेष्ठले जिते। उनले ५१ मिनेट ०३ सेकेन्डमा दूरी पूरा गरे। बर्दियाको गुलरियाका ६९ वर्षीय पुष्कर विश्वकर्मा दोस्रो तथा नेपालगन्जका ६९ वर्षीय मङ्गले तामाङ तेस्रो भए।
स्कुल स्तरीय ५ किलोमिटर दौडतर्फ छात्रमा समीर बस्नेत, बसन्त माझी र नरेश कुँवर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। छात्रातर्फ स्वस्तिका शाही, अप्सरा बम ठकुरी र जनदेवी महताराले शीर्ष तीन स्थान हासिल गरे।
विजेता खेलाडीहरूलाई लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतम, पूर्व सदस्य सचिव भीम ओली, आयोजक क्रियटिभ गन्जका अध्यक्ष टीएस ठकुरी तथा नेपाल पत्रकार महासङ्घ बाँकेका उपाध्यक्ष करुणा शाहलगायतले नगद, ट्रफी र पदक प्रदान गरेका थिए।
रात्रिकालीन बजारलाई थप चलायमान बनाउने उद्देश्यसहित आयोजित ‘म्युजिक नाइट रन’मा राष्ट्रिय गायक सुनिलसिंह ठकुरीले साङ्गीतिक प्रस्तुति दिएका थिए भने सार्थ इन्टिग्रेटेड स्कुलका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए।
नेपालगन्ज १० नाइट रन एम्सको पूर्णकालीन सदस्य रहेको र नेपालमा एम्ससँग आबद्ध दुई वटा रेस आयोजना हुने नेपालगन्ज एकमात्र शहर भएको आयोजकले जनाएको छ।
नेपालगन्जमा पहिलोपटक ‘स्कुल टु ओलम्पिक’
यसैबीच, नेपालगन्जमा पहिलोपटक ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ। नेपाल ओलम्पियन एसोसियसन, रेस नेपाल र क्रियटिभ गन्जको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपालका चर्चित ओलम्पियन तथा स्वर्ण पदक विजेता खेलाडीहरूले विद्यार्थीसँग प्रेरणादायी अन्तरक्रिया गरेका थिए।
कार्यक्रममा ओलम्पियन दीपक बिष्ट, देबु थापा, सन्तोषी श्रेष्ठ, साग डबल स्वर्ण विजेता दीपक श्रेष्ठ, साग स्वर्ण विजेता जुनु राई, पहिलो पुस्ताका ओलम्पियन सुरेन्द्र हमाल तथा पहिलो नेपाली महिला ओलम्पियन पार्वती थापाको सहभागिता रहेको थियो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व उपकप्तान तथा सञ्चारकर्मी ममता थापाले सहजीकरण गरेको कार्यक्रमलाई विद्यार्थीहरूले अत्यन्त प्रेरणादायी र फलदायी अनुभवका रुपमा लिएका थिए।
कार्यक्रम सफल बनाउन योगदान पुर्याएको भन्दै नेपालगन्ज उपमहानगरपालिका, होटल डायमन्ड प्यालेसका प्रबन्ध निर्देशक जीवनसिंह ठकुरी तथा केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेडलाई सम्मान गरिएको थियो। कार्यक्रममा एन्जल्स स्कुल, नेपालगन्ज मोडल एकेडेमी र कन्या मावि सल्यानीबागका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
रेस नेपालका अनुसार ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम अब हरेक वर्ष बाँकेका विभिन्न पालिकामा सञ्चालन गरिनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया