जेठ ६, २०८३ बुधबार May 20, 2026

वन्यजन्तु संरक्षणमा नेपाली सेनाको योगदानको उच्च कदर, विशेष सम्मान प्रदान

पाटे बाघ र गैँडाको संख्या बढाउन नेपाली सेनाको भूमिका महत्वपूर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विगत करिब पाँच दशकदेखि प्रकृति तथा पर्यावरण संरक्षणमा पुर्‍याएको योगदानको कदरस्वरूप विश्व वन्यजन्तु कोष नेपाल (डब्लुडब्लुएफ नेपाल) ले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ।

कोषको ३३औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा नेपाली सेनाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको हो। नेपाली सेनाका अनुसार प्रकृति र जैविक विविधता संरक्षणमा सेनाले निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

यसअघि पनि नेपाली सेनाका विभिन्न छवटा युनिटले सन् २०११, २०१३, २०१५, २०१६, २०१८ र २०१९ लाई “शून्य सिकार वर्ष” बनाउन सफल भएको योगदानका आधारमा प्रतिष्ठित ‘अब्राहम कन्जर्भेसन अवार्ड’ प्राप्त गरिसकेका छन्। त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जले ‘डबल टाइगर अवार्ड’ समेत प्राप्त गरेको थियो। यस वर्ष भने विश्व वन्यजन्तु कोष नेपालले समग्र योगदानको मूल्यांकन गर्दै नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको जनाएको छ।

नेपाली सेना विसं २०३२ सालदेखि औपचारिक रूपमा राष्ट्रिय निकुञ्जहरूको सुरक्षार्थ तैनाथ हुँदै आएको छ। हाल देशभर रहेका १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको सुरक्षाका लागि सेनाका आठ गण, सात अनाश्रित गुल्म तथा एक प्रकृति संरक्षण शिक्षालय परिचालित छन्। यी संरचनामार्फत हजारभन्दा बढी सैनिक वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा निरन्तर खटिएका छन्।

सेनाले संरक्षण क्षेत्रमा खेलेको भूमिकाका कारण नेपालमा दुर्लभ वन्यजन्तुको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको तथ्यांकले देखाएको छ। सन् २००९ मा १२१ रहेको पाटे बाघको सङ्ख्या हाल बढेर ३५५ पुगेको छ भने सन् २००५ मा ४०० रहेको एकसिङ्गे गैँडाको सङ्ख्या बढेर ७५२ पुगेको सेनाले जनाएको छ।

जटिल भौगोलिक अवस्था, प्रतिकूल मौसम तथा कठिन परिस्थितिका बाबजुद नेपाली सेनाले संरक्षण क्षेत्रमा जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै आएको उल्लेख गर्दै सेनाले यस अभियानमा हालसम्म आफ्ना ११६ जना सैनिकले ज्यान गुमाएको जानकारी पनि दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया