वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग तथा वाणिज्य क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने गरी बजेट ल्याउन लागेको बताउनुभएको छ ।
वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) तथा ड्राइपोर्टको आज स्थलगत अवलोकनपछि आयोजित कार्यक्रममा मन्त्री यादवले उद्योग र वाणिज्य क्षेत्रमा देखिएका समस्या उद्योगी व्यबसायीहरुसँगको सहकार्य र सहमतिमा सरकारले सम्बोधन गर्ने बताउनुभयो ।
उहाँले औद्योगिक क्षेत्रको बिकास बिना मुलुकको बिकास सम्भव नरहेको बताउँदै यस क्षेत्रका समस्या र अवरोधलाई हटाउन मन्त्रालय लागिपरेको दाबी गर्नुभयो ।
मन्त्री यादवले सरकारले मुलुकको आपूर्ति व्यवस्थालाई सहज र जनउत्तरदायी बनाउन लागि परेको बताउँदै यसबर्ष समयमै किसानलाई आवश्यक पर्ने मलको आपूर्ति गर्न सरकारले आवश्यक कदम चालिसकेको जानकारी दिनुभयो ।
अवलोकनका क्रममा मन्त्री यादवले वीरगंज भन्सारको आयात–निर्यात प्रणाली, भन्सार जाँच प्रक्रिया तथा पूर्वाधार व्यवस्थापनका विषयमा भन्सार कर्मचारी तथा व्यवसायीहरूसँग आवश्यक छलफल तथा परामर्श समेत गर्नुभएको थियो ।
मन्त्री यादवलाई व्यवसायीहरूले वीरगंज भन्सारमा सवारीसाधन जाँचका लागि एक्स–रे प्रणालीको आवश्यकताका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया