जेठ ११, २०८३ सोमबार May 25, 2026

आयुर्वेद स्वास्थ्य शिविरबाट ३८४ जना लाभान्वित

गाउँमै पुगेर विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएपछि स्थानीय सेवाग्राहीहरू लाभान्वित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिवेणी (रुकुमपश्चिम), जेठ १० गते । रुकुम पश्चिमको सानिभेरी गाउँपालिका ४ स्थित गरायला स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

एकदिने आयुर्वेद स्वास्थ्य शिविरमा स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको थियो । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा सानीभेरी गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरबाट कूल ३८४ जनाले सेवा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमु डा महेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार २२१ महिला र १६३ पुरुषले सेवा लिएका थिए । सेवा लिनेमध्ये १५४ ज्येष्ठ नागरिक रहेका छन् ।

गाउँमै पुगेर विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएपछि स्थानीय सेवाग्राहीहरू लाभान्वित भएका छन् । शिविरमा आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका कविराज निरीक्षक सञ्जय साहसहित जिल्लाभित्रका विभिन्न पालिकाका आयुर्वेद केन्द्रमा कार्यरत  स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका थिए । स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरले आयुर्वेद सेवाप्रति जनविश्वास थप मजबुत बनाएको सहभागीहरूले बताएका छन् ।

सानीभेरी गाउँपालिका अध्यक्ष विष्टले दुर्गम क्षेत्रका नागरिकलाई गाउँमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराएकोमा आयुर्वेद स्वास्थ्य केन्द्र धन्यवाद गर्दै पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको विश्वास र पहुँच बढ्दै गएको बताउनुभयो । आयुर्वेद स्वास्थ्य उपचारको प्रभावकारिता अझ विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।

शिविरमा अम्लपित्त, पेटसम्बन्धी रोग, श्वास, खोकी, पिनास, छातीसम्बन्धी समस्या, हाडजोर्नी तथा नसासम्बन्धी रोग, पुरानो वात रोग, पाठेघरसम्बन्धी समस्या, पाइल्स, फिसर, फिस्टुला, मधुमेह तथा उच्च रक्तचापलगायतका रोगको परीक्षण गरिनुका साथै निःशुल्क औषधि प्रदान गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया