काठमाडौंः दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जनालाई प्रहरीले काठमाडौंको स्वयम्भूबाट आज पक्राउ गरेको छ ।
बाघको छाला अवैध रुपमा रु ४० लाखमा बिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खोजी गर्दै जाँदा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका- १५ स्वयम्भूस्थित होटल प्लाजाको कोठा नम्बर २०८ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका-५ का टेकबहादुर तामाङ, सुजन थिङ र आशिष तामाङ तथा मकवानपुर, थाहा नगरपालिका-८ का सानुकान्छा थिङ रहेको महाशाखाले जनाएको छ । उनीहरुका साथबाट अन्दाजी नौ फिट लम्बाइ र दुई फिट दुई इञ्च चौडाइ भएको प्रतिबन्धित पाटे बाघको छाला बरामद गरिएको छ । प्रहरीका अनुसार धादिङका व्यक्तिबाट टेकबहादुरले रु ३५ लाखमा बाघको छाला किनेर ल्याएको अनुसन्धानमा खुलेको छ ।
उक्त छाला रु ४० लाखमा बिक्री गरी आएको पैसाले दशैँ मनाउने मनशायले प्रलोभनमा परी बेच्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया