वीरगन्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाँई विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । सरकारी वकिल कार्यालयले सोमबार उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्यविरुद्धको कसुरमा सजाय माग गर्दै अभियोग दायर गरेको हो ।
जेठ ४ गते प्रहरीले उनलाई वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा विभिन्न युट्युब अन्तर्वार्ता तथा सार्वजनिक अभिव्यक्तिहरूलाई आधार बनाइएको प्रहरीले जनाएको छ । प्रसाईंले सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्तिमा महिलामाथि आपत्तिजनक टिप्पणी, राज्यका निकाय प्रहरी र सेनाप्रति अपमानजनक अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।
अनुसन्धान अधिकारीहरूका अनुसार उनले युट्युब अन्तर्वार्तामा प्रधानमन्त्री बालेन शाह, रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङलाई एउटै समूहसँग जोडेर टिप्पणी गरेका थिए । साथै, हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापनासम्बन्धी अभिव्यक्ति दिँदै बालेन शाहको फोटो घरमा राख्ने टिप्पणीसमेत गरेका थिए ।
त्यस्तै, उनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे समेत अश्लील टिप्पणी गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूले जनाएका छन् । अदालतमा अभियोग दायर भएपछि उनका समर्थकहरूले पर्सा जिल्ला अदालत अगाडि नाराबाजीसमेत गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया