मकवानपुर, १२ जेठः बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सार्वजनिकीकरण गर्नुभएको छ ।
प्रदेश प्रमुख देवकोटाले सार्वजनिकीकरण गर्नुभएको नीति कार्यक्रममा प्रदेशसभाको अगामी वर्षमा सुशासन सेवा प्रवाहमा सुधार र उत्पादन अभिवृद्धिमा नवप्रवद्र्धन रोजगारी सृजना सामाजिक न्याय दिगो पूर्वाधार निर्माण, वातावरण मानव विकास र वातावरण संरक्षण गर्ने उल्लेख छ । उक्त नीति कार्यक्रममा प्रदेश सरकारको सुशासन, पारदर्शी, जवाफदेहिता नतिजामुखी, सार्वजनिक प्रशासनलाई शासन प्रणालीको मूलआधारका रुपमा स्थापित गर्ने लक्ष्य रहेको छ ।
प्रदेशको सार्वजनिक खर्च मापदण्ड आयोजना छनौट मापदण्ड बहुवार्षिक आयोजनाको व्यवस्थापन तथा आयोजनाको बैङ्किङसम्बन्धी कानुनी व्यवस्थालाई एकीकृत गर्ने र प्रदेश गौरव आयोजनाहरुको नियमित अनुगमन र नियमन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गरिने उल्लेख गरिएको छ । सो नीति कार्यक्रममा प्रदेशमा शान्तिसुरक्षा कानुनी शासन तथा नागरिक सुरक्षालाई थप सुुदृढ बनाउनु सुरक्षा निकाय र स्थानीय तहका बीच सहकार्य अभिवृद्धि गर्ने बताइएको छ ।
यसैगरी, विपत्पूर्व तयारीमा लगानी, धनजनको न्यून नोक्सानी भन्ने अवधारणालाई विपत् न्यूनीकरण व्यवस्थापनलाई सुदृढ बनाइनेछ । गरिबी निवारणलाई सामाजिक न्याय र समृद्धिका आधारका रुपमा अघि बढाइने उल्लेख छ । यसैगरी, प्रदेश जनता आवास कार्यक्रमअन्तर्गत चेपाङ, बोटे, माझी, थामी, जिरेल, सुरेल, पहरी, बनकरीयालगायत सीमान्तकृत समुदायको एकीकृत विकास कार्यक्रमलाई निरन्तरता दिइने औँल्याएको छ ।
त्यसैगरी, प्रदेशका विभिन्न जिल्लामा औषधि तथा औद्योगिक कच्चापदार्थका रुपमा सुरक्षित र व्यावसायिक गाँजा खेतीलाई व्यवस्थित गर्न आवश्यक कानुनी प्रवद्र्धन गरिनेछ । यसैगरी, सुरक्षित तथा गुणस्तरीय खानीपानी सेवामा नागरिकहरुको पहुँच विस्तार गरी ‘एक घर एक धारा’ कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ । यातायात कार्यालयबाट प्रदान गरिने सेवाहरुलाई एकीकृत डिजिटल प्रणालीमार्फत सरल पारदर्शी सेवाग्राही मैत्री बनाइने छ । यसैगरी, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थागत सुदृढीकरण गरिनेछ ।
उक्त बैठकमा उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाअन्तर्गत रहेको सार्वजनिक लेखा समितिको सदस्यमा भुवनकुमार पाठक, विशेष समितिको सदस्यमा उर्मिला सुनुवारको नाम प्रस्तावित गर्नुभएकामा सोही बैठकले स्वीकृत गरेको छ । प्रदेशसभा उपसभामुख चापागार्इंले प्रदेशसभाको अर्को बैठक यही जेठ १८ गते दिउँसो १ः०० बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो ।
प्रदेशसभा बैठकबाट धन्यवाद ज्ञापनको प्रस्ताव स्वीकृत
यसैबीच प्रदेशसभाको बजेट अधिवेशनको आज बसेको तेस्रो बैठकले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधान धारा, १८४ बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति कार्यक्रमलाई आज प्रदेशसभाको बैठकमा सार्वजनिकीकरण गर्नुभएकामा त्यसलाई धन्यवाद प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सोही बैठकमा प्रदेशसभाका सदस्य पुकार महर्जनले धन्यवाद प्रस्ताव पेस गर्नुभएको थियो भने प्रदेशसभा सदस्य एकलाल श्रेष्ठले उक्त प्रस्तावको समर्थन गर्नुभएको थियो ।
यसअघि प्रदेशसभाको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति कार्यक्रमको प्रति टेवुल गर्नुभएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया