असार २२, २०८२ आइतबार July 6, 2025

बालुवाटार जग्गा प्रकरण : ३२ करोडको मुद्दा लागेका प्रतिवादी दुई लाख धरौटीमा छुटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बालुवाटारस्थित ललितानिवास क्याम्पको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेकोमा करोडौँको बिगोसहित मुद्दा लागेका प्रतिवादीहरू न्यूनतम धरौटीमा छुटेका छन् । एक सय ७५ मध्ये ३३ जना प्रतिवादी अदालतमा उपस्थित भएकामा २४ जना केही लाख धरौटीमा तथा नौ जना खोजेको वेला उपस्थित हुने गरी छुटेका छन् ।

तर, मुख्य योजनाकार शोभाकर ढकाल र रामप्रसाद सुवेदीसहित अधिकांश प्रतिवादी अझै उपस्थित भएका छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २२ माघमा एक सय ७५ जनालाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।

अदालतमा उपस्थित भएकामध्येमा सबैभन्दा धेरै १५ लाख रुपैयाँ धरौटी माग भएको छ । थोरै मात्र धरौटी माग हुन थालेपछि उपस्थित हुने प्रतिवादीको संख्या बढ्दै गएको विशेष अदालतका एक कर्मचारीले बताए । नौ अर्ब आठ करोडको बिगो दाबी गरी मुद्दा दायर भएको थियो । विशेष अदालतका प्रवक्ता उपरजिस्ट्रार पुष्पराज पाण्डेयका अनुसार भदौपछि धमाधम प्रतिवादी उपस्थित हुन थालेका हुन् । उपस्थित हुनेहरूमा हालका जग्गाधनीदेखि पूर्वभूमिसुधारमन्त्रीसम्म छन् ।

६५ जना जग्गाधनीलाई जग्गा जफतका लागि मात्र मुद्दा दायर गरिएको थियो, जसमध्ये नौजना अदालतमा उपस्थित भइसकेका छन् । तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारसहितका प्रतिवादी भने अझै अदालत पुगेका छैनन् ।

अदालतमा उपस्थित हुने पहिलो प्रतिवादी तत्कालीन मालपोत अधिकृत कृष्णप्रसाद पौडेल हुन्, जो गत ३ चैतमा विशेष अदालतमा उपस्थित भएका थिए । शिवराज अधिकारी र चन्द्रबहादुर सारूको इजलासले उनलाई पुर्पक्षमा पठाउने आदेश दिएको थियो । तर, २३ असारमा सर्वोच्चले दुई लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी छुटिसकेका छन् । उनलाई ३२ करोड १९ लाख २० हजार बिगो दाबी गरिएको थियो । उनलाई पुर्पक्षमा पठाउने आदेश भएपछि अन्य प्रतिवादी अदालत जान डराएका थिए । तर, उनी सर्वाेच्चको आदेशमा छुटेपछि अन्य प्रतिवादी धमाधम उपस्थित हुन थालेका हुन् ।

३ भदौमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजा उपस्थित भए । उनलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । हालसम्म उपस्थित भएकामध्ये सबैभन्दा धेरै धरौटी उनीसँगै मागिएको छ । उनलाई २ करोड ३६ लाख ८५ हजार पाँच सय बिगो दाबी गरिएको थियो ।

२८ भदौमा नासु श्रीहरि पुडासैनी उपस्थित भएकोमा उनी ५० हजार धरौटीमा छुटे । ३१ भदौमा उपस्थित मालपोतका तत्कालीन खरिदार श्यामकुमार क्षत्री पनि ५० हजार धरौटीमा छुटे । ४ असोजमा उपस्थित मोहम्मद साबिर हुसैन दुई लाख तथा गुठी संस्थानका वरिष्ठ सहायक रामेश्वर बिडारीसँग ५० हजार रुपैयाँ धरौटी लिइएको छ ।

५ असोजमा उपस्थित तीन प्रतिवादीमध्ये सुब्बा टीकाबहादुर बिसीलाई एक लाख धरौटी लिइएको छ । सचिव दिनेशहरि अधिकारीलाई पाँच लाख र गुठी संस्थानका सहायक प्रशासक जयप्रसाद रेग्मीलाई तीन लाख रुपैयाँ धरौटी लिई छाडिएको विशेष अदालतले जनाएको छ । ६ असोजमा गुठी संस्थानका कर्मचारी नवराज पौडेल र शैलेन्द्र पौडेललाई ५०–५० हजार रुपैयाँ धरौटी लिने आदेश भएको छ ।

८ असोजमा उपस्थित भूमिसुधारका शाखा अधिकृत इन्द्रप्रसाद ढुंगानालाई दुुई लाख रुपैयाँ धरौटीमा छाड्न विशेषले आदेश दिएको छ । ११ असोजमा भूमिसुधारका तत्कालीन सहसचिव तेजराज पाण्डे तीन लाख तथा मालपोतका उपसचिव लक्ष्मीनारायण उप्रेतीलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ ।

तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठसँग ९ करोड ७५ लाख ७५ हजार बिगो दाबी भएकोमा पाँच लाख रुपैयाँ धरौटीमा छुटेका छन् । भूमिसुधारका महानिर्देशक रुद्रकुमार श्रेष्ठलाई चार लाख धरौटीमा छाड्ने आदेश भएको छ । यस्तै, इन्द्रकुमार थापा क्षत्रीलाई एक लाख रुपैयाँ धरौटी मागिएको थियो । उनीहरू तीनैजना १२ असोजमा विशेष अदालतमा उपस्थित भएका हुन् । १३ असोजमा प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरे र गुठी संस्थानका उपप्रशासक हरिबोल आचार्य अदालतमा उपस्थित भएका छन् । उनीहरूलाई क्रमशः पाँच लाख र तीन लाख रुपैयाँ धरौटी मागिएको छ ।

१५ असोजमा उपस्थित तत्कालीन सहसचिव जितबहादुर थापा, कामु गुठी प्रशासक दिलीपकुमार भट्ट र डिल्लीबजार मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत दिनेशकुमार शर्मा तीन–तीन लाख धरौटीमा छुटेका छन् । १८ असोजमा उपस्थित भएका गुठी संस्थानका प्रशासक सेमन्तराज चापागाईंसँग तीन लाख रुपैयाँ धरौटी मागिएको छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार