जेठ १८, २०८३ सोमबार June 1, 2026

युएन शान्ति मिसनमा वीरगति प्राप्त सैनिकका परिवार सम्मानित

विश्व शान्तिका लागि बलिदान दिने सैनिकका परिवारलाई नेपाली सेनाको सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका क्रममा वीरगति प्राप्त गरेका दुई सैनिकका परिवारलाई सम्मान गरेको छ। ‘इन्टरनेशनल डे अफ युएन पिसकिपर्स’ को अवसरमा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा प्रधानसेनापति अशोक राज सिग्देलले शान्ति मिसनका क्रममा ज्यान गुमाएका दुई सैनिकका परिवारलाई सम्मानपत्र प्रदान गर्दै उनीहरूले राष्ट्रको प्रतिष्ठा र विश्व शान्तिका लागि पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्नुभयो। उहाँले नेपाली शान्ति सैनिकहरूले विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापना, मानवीय सहायता तथा स्थायित्व कायम गर्न खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

सोही अवसरमा संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा उत्कृष्ट कार्यसम्पादन गर्ने पाँच जना सैनिकलाई पनि कदरपत्र प्रदान गरिएको थियो। उनीहरूको समर्पण, व्यावसायिक दक्षता र उत्कृष्ट सेवाको कदरस्वरूप सम्मान गरिएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाले सन् १९५८ देखि संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा सहभागिता जनाउँदै आएको छ। सात दशकभन्दा लामो इतिहासमा नेपाली शान्ति सैनिकहरूले विश्वका विभिन्न द्वन्द्व प्रभावित मुलुकहरूमा शान्ति स्थापना, सुरक्षा प्रवर्द्धन तथा मानवीय सहयोगका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

हाल नेपाली सेना विश्वकै अग्रणी शान्ति सैनिक योगदानकर्ता राष्ट्रहरूमध्ये एकका रूपमा परिचित छ। नेपाली सेनाका चार हजार १७९ भन्दा बढी सैनिक विभिन्न संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत विभिन्न देशमा तैनाथ भई शान्ति स्थापना तथा संरक्षणको जिम्मेवारी निर्वाह गरिरहेका छन्।

कार्यक्रममा नेपाली सेनाले शान्ति स्थापनामा योगदान पुर्‍याउँदै आएका सैनिकहरूको साहस, समर्पण र व्यावसायिकताको सम्मान गर्दै आगामी दिनमा पनि विश्व शान्तिका लागि आफ्नो प्रतिबद्धता निरन्तर रहने जनाएको छ।

वीरगति प्राप्त गर्नेलाई सम्मान, उत्कृष्टकाे कदर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया