काठमाडौं । हिरासतमा रहेका दीपक भट्ट र साहिल अग्रवाललाई विशेष सुविधा दिएको आरोपमा विवादमा तानिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीको सरुवा गरिएको छ। उनलाई प्रहरी प्रधान कार्यालयअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा पठाइएको छ भने उनको स्थानमा एसएसपी तुलबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ। बोगटी २०८२ असोजमा सिआइबीबाट ललितपुर सरुवा भएका थिए।
भट्ट र अग्रवाललाई हिरासतमै आइप्याड प्रयोग गर्न दिइएको तथा प्रहरी कर्मचारीको कोठामा सुत्न दिएको आरोप सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो। उनीहरूले हिरासतमा रहँदा बाह्य सम्पर्कसमेत गरेको खुलेपछि थप अनुसन्धान सुरु गरिएको थियो। यद्यपि छानबिन प्रतिवेदनको निष्कर्ष भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
सोमबार सार्वजनिक ३३ जना एसएसपीको सरुवामा काठमाडौं उपत्यकासहित विभिन्न महत्वपूर्ण निकायका प्रमुखहरू हेरफेर भएका छन्। काठमाडौं प्रहरी परिसरमा मानवस्रोत विभागका एसएसपी दिलीप घिमिरेको सरुवा भएको छ भने उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शान्तिराज कोइराला, मानव बेचबिखन अनुसन्धान ब्युरोमा नकुल पोखरेल, लागुऔषध नियन्त्रण ब्युरोमा सुवासचन्द्र बोहरा र सिआइबीमा अनुपम शमशेर जबरालाई जिम्मेवारी दिइएको छ।
त्यस्तै एसएसपी रमेश थापा मधेस प्रदेश प्रहरी कार्यालयमा सरुवा भए पनि काजमा प्रहरी प्रधान कार्यालयमै राखिएका छन्। कृष्णप्रसाद कोइराला गण्डकी प्रदेश अपराध नियन्त्रण महाशाखा, कृष्णप्रसाद पंगेनी अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखा तथा नवराज अधिकारी लुम्बिनी प्रदेश कार्यालयमा सरुवा भएका छन्। प्रहरी नियमावलीअनुसार एसएसपी र डिआइजीको सरुवा गृहमन्त्रीले गर्ने व्यवस्था छ। हाल प्रधानमन्त्री वालेन्द्र शाहले गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया