जेठ २१, २०८३ बिहिबार June 4, 2026

एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती

प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा एचआइभी पोजेटिभको सङ्ख्या एक हजार ७४५

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, २१ जेठः एचआइभी एडस सङ्क्रमणको उपचार र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि सङ्क्रमित व्यक्तिप्रति समाजमा कायम रहेको लाञ्छना, भेदभाव र गलत धारणा अझै ठूलो चुनौतीका रूपमा रहेको छ । एचआइभीबारे पर्याप्त जानकारी नहुँदा सङ्क्रमितहरू सामाजिक बहिष्कार, अपमान, मानसिक तनावलगायत समस्या भोग्न बाध्य छन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा आज शुक्लाफाँटा नगरपालिकामा सम्पन्न ‘एचआइभी एड्ससम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम’मा सहभागी वक्ताहरूले एचआइभी सङ्क्रमित व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन नसकेसम्म सङ्क्रमण नियन्त्रणको अभियान पूर्ण रूपमा सफल हुन नसक्ने बताए  ।

कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका एचआइभी फोलक पर्सन नरेन्द्रसिंह रावलले एचआइभीको वर्तमान अवस्था, सङ्क्रमणका कारण, रोकथामका उपाय तथा सङ्क्रमित व्यक्तिमाथि हुने सामाजिक विभेदका विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँका अनुसार आर्थिक वर्ष २०८०÷८१ सम्मको तथ्याङ्क हेर्दा सुदूरपश्चिम प्रदेशमा एचआइभी सङ्क्रमित तीन हजार ७२३ रहेका छन् । सोही क्रममा ५५ हजार २२८ गर्भवतीको जाँच गरिएकामा जसमध्ये एचआइभी सङ्क्रमित तीन जना मात्रै रहेका छन् ।

प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा एचआइभी पोजेटिभको सङ्ख्या एक हजार ७४५ रहेको छ । दार्चुलामा सङ्क्रमितको सङ्ख्या ४५ रहेको छ । यसैगरी, अछाममा ५८४,  डोटीमा ४९३, कञ्चनपुरमा ४६०, बैतडीमा ११८, डडेल्धुरामा ११५, बझाङमा ९१ र बाजुरामा ६२ एचआइभी सङक्रमित रहेका छन् । उहाँका अनुसार नेपालमा एचआइभी सङ्क्रमितको अनुमानित सङ्ख्या ३४ हजार ३३७ छ । तीमध्ये १९ हजार २७९ पुरुष, १४ हजार महिला तथा एक हजार ५८ बालबालिका रहेका छन् ।

सन् २०२४ को अन्त्यसम्म ३० हजार २१७ जनामा सङ्क्रमण पहिचान भइसकेको छ भने २६ हजार २८८ जना नियमित उपचारमा रहेका फोलक पर्सन रावलले बताउनुभयो । उहाँले एचआइभी सङ्क्रमितलाई समाजले अझै पनि नकारात्मक दृष्टिकोणले हेर्ने गरेको बताउँदै यसले सङ्क्रमितको आत्मविश्वास घटाउने, मानसिक समस्या निम्त्याउने र उपचार प्रक्रियामा समेत असर पार्ने बताउनुभयो ।

“धेरै व्यक्तिहरू एचआइभीको नाम सुन्नासाथ डराउने र सङ्क्रमितलाई अलग व्यवहार गर्ने गर्छन्,” शुक्लाफाँटा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत पदमबहादुर महराले भन्नुभयो, “तर अहिले औषधि सेवन गरेर एचआइभी सङ्क्रमित व्यक्तिले सामान्य जीवन बिताउन सक्छन्, उहाँहरूलाई समाजबाट टाढा राख्नु वा अपमान गर्नु गलत हो ।”

एचआइभीसम्बन्धी गलत धारणाकै कारण धेरै जना परीक्षण गराउन हिच्किचाउने गरेका छन् । समयमै परीक्षण र उपचार सुरु गर्न नसक्दा सङ्क्रमण थप जटिल बन्ने जोखिम छ । कार्यक्रममा एचआइभी सङ्क्रमणका मुख्य माध्यमबारे जानकारी दिँदै असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रगतको प्रयोग, लागूऔषध प्रयोग गर्दा सुई साटासाट गर्ने व्यवहार, सङ्क्रमित औजारको प्रयोग तथा आमाबाट बच्चामा सङ्क्रमण सर्न सक्ने बताइएको थियो ।

गर्भावस्था, प्रसूति तथा स्तनपानको समयमा आमाबाट बच्चामा सङ्क्रमण सर्न सक्ने भएकाले गर्भवती महिलाको नियमित परीक्षण आवश्यक रहेको जानकारी दिइयो । स्वास्थ्यकर्मी हरि नाथले  खोक्दा, हाछ्युँ गर्दा, हात मिलाउँदा, अँगालो हाल्दा, सँगै बसेर खाना खाँदा, एउटै भाँडाकुँडा प्रयोग गर्दा, सार्वजनिक शौचालय प्रयोग गर्दा, लामखुट्टेले टोक्दा वा एउटै कार्यस्थलमा काम गर्दा एचआइभी नसर्ने स्पष्ट पार्नुभयो । उहाँले एचआइभी सङ्क्रमितसँग सामान्य सामाजिक सम्बन्ध राख्न कुनै जोखिम नरहेको बताउँदै यस्ता भ्रमले नै लाञ्छना र विभेदलाई बढावा दिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा एचआइभी सङ्क्रमित व्यक्तिमाथि हुने लाञ्छना र भेदभावका असरबारे पनि चर्चा गरिएको थियो । सङ्क्रमित व्यक्तिमा एक्लोपनको भावना बढ्ने, आत्मविश्वास घट्ने, मानसिक तनाव, चिन्ता, निराशा तथा सामाजिक गतिविधिबाट टाढा हुने समस्या देखिने स्वास्थ्यकर्मीहरूले बताएका छन् । यस्ता व्यवहारका कारण कतिपय व्यक्तिहरू उपचारबाट समेत टाढा रहने, आफ्नो स्वास्थ्य अवस्था लुकाउने तथा परीक्षण नगराउने प्रवृत्ति बढ्ने बताइएको थियो । कार्यक्रमका सहभागीले एचआइभी सङ्क्रमितप्रति सम्मानजनक व्यवहार गर्दै भेदभावरहित र समावेशी समाज निर्माणका लागि जनचेतना अभिवृद्धि गर्नुपर्ने निष्कर्ष निकालेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया