काठमाडौँ, जेठ २२ गते । परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबारदेखि भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले भारत भ्रमण गर्न लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गरी परराष्ट्रमन्त्री खनालको औपचारिक भ्रमण शुक्रबारदेखि सुरु भई आइतबार टुङ्गिने जनाएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नुहुने छ । व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने छन् ।
उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री खनाल जेठ २४ गते आइतबार स्वदेश फर्किनुहुने मन्त्रालयले उल्लेख गरेको छ ।
यसैबिच परराष्ट्रमन्त्री खनालले सरकार सुशासन र तीव्र आर्थिक विकासमा दृढ प्रतिबद्धतासाथ अघि बढिरहेको बताउनुभएको छ । नागरिकको परिवर्तनप्रतिको अपेक्षा बढ्दै गएको उल्लेख गर्दै उहाँले ती आकाङ्क्षा पूरा गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा सबै सरोकारवाला निकायबिच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो ।
सरकारले परम्परागत कार्यशैलीभन्दा बाहिर निस्केर परिणाममुखी र दिगो विकासलाई प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँगको सहकार्यलाई सुदृढ गर्दै राष्ट्रिय हित प्रवर्धन गर्ने नीति सरकारले लिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकताहरू प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले विकास साझेदारीलाई अझ व्यवस्थित र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारलाई बलियो बनाउनु नै विकास र सामाजिक सङ्घसंस्थाका कामलाई प्रभावकारी बनाउने आधार भएको उहाँको भनाइ थियो । दिगो शान्ति, विकास र समृद्धिका लक्ष्य हासिल गर्न सबै पक्षले साझा प्रयास गर्नुपर्ने उहाँले बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया