काठमाण्डाैंः राजधानी निर्णयको विरुद्धमा नेपाली काँग्रेस रुपन्देहीले असोज २० गतेलाई कालो दिनका रुपमा मनाउने भएको छ । निर्णयलगत्तै नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले विज्ञप्ति जारी गर्दै राजधानी सारिएको दिनलाई कालो दिनका रुपमा मनाउन जिल्लावासीमा अपिल गरेका हुन् ।
जनताको भावनामा गहिरो चोट पुर्याउने सरकार र त्यसका मतियारहरुकाविरुद्ध उपयुक्त मुल्याङकन् हुने उनले बताए । व्यापक विरोध जनदवाव तथा अस्थायी राजधानी तोकिएपछि रुपन्देहीवासीले प्रदेश राजधानीका लागि गरेको योगदानलाई कुल्चदै सरकारले दुई तिहाई मतको दम्भले गलत निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै रुपन्देही राजधानीका लागि नेपाली काँग्रेस रुपन्देहीले निरन्तर आन्दोलन चलाइरहने र आफ्नो पार्टीको बहुमत पुगेका बेला रुपन्देही बनाउने दावी समेत गरेको छ ।
अहिले चलिरहेको आन्दोलनलाई फरक ढंगले जारी राखिरहने कांग्रेसले जनाएको छ । साथै आन्दोलनको रणनीति बनाउनका लागि बुटवलको होटलमा बसिरहेका बेला पक्राउ परेका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई विना सर्त रिहा नगरे त्यसका विरुद्धको आन्दोलन थेग्न सरकारलाई मुश्किल पर्ने चेतावनी कांग्रेसको रहेको छ ।
पक्राउ परेको नेता कार्यकर्ताहरुलाई विभिन्न यातना दिने, झुट्टा मुद्दा लगाएर फसाउने प्रहरी प्रशासनको हर्कत तत्काल रोक्न कांग्रेसले आग्रह गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया