जेठ ३०, २०८३ शनिबार June 13, 2026

नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने छौँः पर्यटनमन्त्री

आरोग्य पर्यटन अध्ययनलाई होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मार्फत स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,  जेठ ३० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्ड र स्पा सङ्घ नेपालको आयोजनामा विश्व आरोेग्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आगामी दश वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले आरोग्य दशक मनाउनका लागि आवश्यक नीति तथा रणनीति निर्माण प्रक्रिया अघि बढिरहेको बताउनुभयो । आरोग्य पर्यटन अध्ययनलाई होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मार्फत स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

मन्त्री पौडेलले नेपाल आध्यात्मिक भूमि भएकाले यहाँको हिमाल, नदी, वनजङ्गल र प्राकृतिक वातावरणले मानिसलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने बताउनुभयो ।

“पर्यटनको सबैभन्दा ठुलो आधार खुसी हो, आजको विश्वले सबैभन्दा बढी खोजिरहेको विषय पनि खुसी हो । नेपालसँग आध्यात्मिकता, योग, ध्यान, प्राकृतिक उपचार र आरोग्य जीवनशैलीको अनुपम सम्भावना छ, जसलाई व्यवस्थित रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा स्पा सङ्घ नेपालका अध्यक्ष सुरेश पुरीले विश्वभर करिब ७० करोड मानिस आरोग्य पर्यटनसँग आबद्ध रहेका उल्लेख गर्दै स्पालाई केवल विश्राम र मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई रोगको रोकथाम र स्वस्थ जीवनशैलीको महत्त्वपूर्ण अङ्गका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।

उहाँले स्पा तथा आरोग्य क्षेत्रको व्यवस्थित विकासका लागि स्पष्ट कार्यविधि, अन्तर्राष्ट्रियस्तरको सेवा प्रणाली तथा तीन महिनाको व्यावसायिक तालिम र प्रमाणीकरण प्रणाली आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“विश्व आरोग्य दिवस विगत १५ वर्षदेखि निरन्तर मनाइँदै आएको छ, नेपालमा पनि आरोग्य पर्यटनलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले स्पाको इतिहास बेल्जियमका तातोपानीको कुण्डसँग जोडिएको स्मरण गर्दै नेपालमा आयुर्वेद जीवनशैलीकै अभिन्न हिस्सा रहेको बताउनुभयो ।

उहाँले स्पा क्षेत्रलाई सम्मानित र व्यावसायिक पेसाका रूपमा विकास गर्नु समयको आवश्यकता रहेकाले सरकारले सोको तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

स्पा सङ्घ नेपालका सचिव रामदेव महतोले आधुनिक समाजमा स्पा केवल मसाजको पर्याय नभई शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य प्रवर्धन गर्ने प्रभावकारी माध्यम बनेको बताउनुभयो । बढ्दो तनाव, व्यस्त जीवनशैली र मानसिक दबाबबाट मुक्ति दिलाउन स्पा सेवाले महत्त्वपूर्ण भूमिका खेलिरहेको उहाँको भनाइ छ । उहाँले आरोग्य पर्यटनको विस्तारसँगै स्पा सेवा मानसिक शान्ति, स्वस्थ जीवनशैली र समग्र कल्याणको आधार बन्दै गएको उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय आरोग्यविज्ञ डोनाल्ड चाले नेपाल आफैँमा आरोग्यको प्रतीक रहेको भन्दै योग, ध्यान, उपचार पद्धति, स्पा तथा आध्यात्मिक अभ्यासलाई आर्थिक मूल्यमा रूपान्तरण गरी पर्यटन उद्योगको महत्त्वपूर्ण आधार बनाउनुपर्ने बताउनुभयो । मलेसिया स्पा सङ्घका प्रतिनिधि खेम धामीले स्वस्थ भोजन, स्वस्थ जीवनशैली र क्यान्सरजस्ता रोगविरुद्ध जनचेतना अभिवृद्धिका लागि विश्व आरोग्य दिवससँग सम्बन्धित अभियान आगामी वर्षमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो ।

आरोग्य पर्यटन, योग, ध्यान, आयुर्वेद, प्राकृतिक उपचार र स्पा सेवाको समन्वयमार्फत नेपाललाई विश्वस्तरीय आरोग्य गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिएको स्पा सङ्घ नेपालका महासचिव अमृत थोकरले जानकारी दिनुभयो । उहाँले स्पा आयुर्वेद जीवनशैलीसँग जोडिएको विषय भएकाले वर्तमान समयमा स्वस्थ जीवनशैलीका लागि यसको महत्त्व रहेको धारणा राख्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने छौँः पर्यटनमन्त्री
२०८३ जेठ ३०, शनिबार
कालीकोटको सबै पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा
२०८३ जेठ ३०, शनिबार
बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
२०८३ जेठ ३०, शनिबार
हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित
२०८३ जेठ ३०, शनिबार
काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
२०८३ जेठ ३०, शनिबार
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै
२०८३ जेठ ३०, शनिबार
भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै
२०८३ जेठ ३०, शनिबार