असार १, २०८३ सोमबार June 15, 2026

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३१ जेठः चीनको चारदिने औपचारिक भ्रमणमा जानुभएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।

परराष्ट्रमन्त्री खनाल चीनको विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा  आज बिहान बेइजिङ पुग्नुभएको हो । उहाँलाई बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

आज अपराह्न परराष्ट्रमन्त्री खनाल उहाँको सम्मानमा नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको दूतावासले जनाएको छ । कार्यक्रममा उहाँले वर्तमान सरकारका प्राथमिकता सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो । साथै उहाँले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गर्नुभयो ।

यसअघि परराष्ट्रमन्त्री खनालले राजदूतावास परिसरमा बिरुवा रोप्नुभएको थियो । साथै, उहाँले कार्यवाहक राजदूत तथा अन्य अधिकारीबाट राजदूतावासको कार्यसम्पादन र प्राथमिकताबारे जानकारी लिनुभएको थियो । मन्त्री खनालले चीनमा नेपालको हित प्रवद्र्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरुलाई निर्देशन दिनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया