विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले प्रदेश सञ्चार प्रतिष्ठानको गठन यथाशीघ्र गरिने बताउनुभएको छ। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आगामी असारभित्रै प्रतिष्ठानका पदाधिकारी नियुक्ति प्रक्रिया टुङ्ग्याइने तथा लोककल्याणकारी विज्ञापनसम्बन्धी व्यवस्थालाई व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मुख्यमन्त्री कार्कीले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले सरकारका सूचना तथा विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, समावेशी र न्यायोचित बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले सरकारी विज्ञापन र सूचना कुनै निश्चित सञ्चारमाध्यममा मात्र सीमित नभई सबै सञ्चारमाध्यमले समान अवसरका आधारमा प्राप्त गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले यस विषयलाई संघीय सरकारसमक्ष प्रभावकारी रूपमा उठाउन नेपाल पत्रकार महासङ्घलाई आग्रह गर्दै सञ्चारमाध्यमको दिगोपनाका लागि विज्ञापन वितरण प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य ले सञ्चारमाध्यमको आर्थिक सुदृढीकरणका लागि सरकारी सूचना तथा विज्ञापन वितरणमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले राज्यका सूचना सबै नागरिकसम्म पुर्याउने महत्वपूर्ण दायित्व सञ्चारमाध्यमले निर्वाह गरिरहेको उल्लेख गर्दै विज्ञापन वितरणमा विभेद हुन नहुने धारणा राख्नुभयो।
त्यस्तै नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का ले प्रदेश तथा संघीय सरकारले सञ्चार क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि स्पष्ट नीति तथा व्यवहारिक कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले सरकारी सूचना र लोककल्याणकारी विज्ञापन सबै प्रकारका सञ्चारमाध्यममा समान रूपमा उपलब्ध गराउनुपर्ने माग दोहोर्याउनुभयो।
कार्यक्रममा पत्रकारिता क्षेत्रको वर्तमान अवस्था, सञ्चारमाध्यमको आर्थिक चुनौती, विज्ञापन बजारको अवस्था तथा प्रदेश सञ्चार प्रतिष्ठानको भूमिकाबारे समेत छलफल भएको थियो। सहभागीहरूले प्रदेश सञ्चार प्रतिष्ठान गठनसँगै सञ्चार क्षेत्रलाई थप व्यवस्थित, उत्तरदायी र व्यावसायिक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया