श्रावण २७, २०८३ बुधबार August 12, 2026

विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन गृहमन्त्री गुरुङको जोड

राहत सामग्रीको गुणस्तर र सुरक्षित खानेपानी सुनिश्चित गर्न गृहमन्त्रीको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सूचना प्रवाह प्रणालीलाई प्रविधिमैत्री बनाउँदै एकीकृत विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक काठमाडौँ, ४ असारः सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक । तस्बिरः गोपाल दाहाल/रासस
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको बैठकमा गृहमन्त्री गुरुङले मनसुनजन्य विपद् पूर्वतयारी, राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपत्कालीन प्रतिकार्य योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो ।

गृहमन्त्री गुरुङले विपद् पूर्वतयारीमा महिलाहरूको सुरक्षालाई प्राथमिकतामा राखी नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायहरूका प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो ।

बैठकमा राहतका लागि छुट्टाइएका खाद्य सामग्रीको गुणस्तर तथा पर्याप्त भण्डारण र स्वच्छ खानेपानी वितरण सुनिश्चित गर्नुपर्ने बताउनुहुँदै विपद् प्रतिकार्यसम्बन्धी निर्णयहरूको कार्यान्वयन र अनुगमनलाई तीव्रता दिनुपर्नेमा गृहमन्त्री गुरुङले जोड दिनुभयो ।

बैठकमा सरोकारवालाहरुले विपद्सम्बन्धी सूचना प्रवाह तथा समाचारको प्रभावकारी सङ्कलन, सम्प्रेषण र जनचेतना अभिवृद्धिका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया