असार ६, २०८३ शनिबार June 20, 2026

कक्षा १२ को नतिजामा सुधार

विश्वविद्यालयले यस वर्षदेखि भर्ना र पठनपाठनको कार्यतालिका अगाडि नै सुरु गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ६ गते । पछिल्ला वर्ष कक्षा १२ को नतिजामा निरन्तर सुधार देखिएको छ । अघिल्लो वर्ष ६१.१७ प्रतिशत रहेको नतिजा यस वर्ष वृद्धि भएर ६९.७५ प्रतिशत पुगेको छ । दुई वर्षअघि कक्षा १२ को उत्तीर्ण प्रतिशत ५२.९१ प्रतिशत मात्रै थियो । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार दुई वर्षको अवधिमा १२ कक्षाको नतिजामा झन्डै १७ प्रतिशत वृद्धि देखिएको छ ।

यस पटक १२ को परीक्षामा नतिजा वृद्धि हुनुमा थुप्रै कारण भए पनि विगत केही वर्षदेखि प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणमा शिक्षकलाई दिइएको तालिम र विगतका नतिजालाई विश्लेषण गर्दै अपनाइएको सुधारात्मक उपाय मुख्य भएको परीक्षा बोर्डले जनाएको छ । बोर्डले पछिल्लो समय प्रश्नपत्र निर्माणका लागि शिक्षकलाई तालिम दिन थालेको छ ।

परीक्षा बोर्डका नियन्त्रक (कक्षा १२) कृष्ण शर्माका अनुसार यस क्रममा दुई हजारभन्दा धेरै शिक्षकलाई यस्तो तालिम दिइएको छ । बोर्डले विगतका प्रश्नपत्र तथा नतिजाको विश्लेषण गर्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म नतिजा सुधारको अभियान चलाएको शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “यस अभियानले शिक्षक, विद्यार्थी, अभिभावक सबैलाई झकझक्यायो । जसको परिणाम नतिजामा देखियो ।”

बोर्डले परीक्षा गत जेठ १४ बाट २७ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए । जसमध्ये नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका परीक्षा बोर्डले जनाएको छ । सरकारले कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो । तर बोर्डले निर्देशन भएको समयावधिअगावै नतिजा सार्वजनिक गरेको हो । यसअघि एसइईको नतिजा पनि २९ दिनमै सार्वजनिक गरिएको थियो । कक्षा १२ को नतिजा छिटो सार्वजनिक भएसँगै स्नातक तहमा भर्ना हुन विद्यार्थीलाई सहज भएको छ । विगतमा स्नातक तहको भर्नाको सूचना जारी हुँदासमेत कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक नहुँदा विद्यार्थी मर्कामा पर्ने गरेका थिए ।

सुशासनप्रतिको प्रतिबद्धता : शिक्षामन्त्री

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुशासनप्रति सरकारको प्रतिबद्धताका कारण कक्षा १२ को परीक्षाफल विगतको तुलनामा निकै छिटो सार्वजनिक भएको बताउनुभएको छ । छिटो नतिजा प्रकाशन हुँदा समग्र शैक्षिक क्यालेन्डरमा सकारात्मक प्रभाव पार्ने मन्त्री पोखरेलले बताउनुभयो । मन्त्रीपरिषद्ले तीन महिनामा गरेका बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेलले शुक्रबार भन्नुभयो, “विगतमा नतिजा सार्वजनिक गर्न तीन महिनाभन्दा बढी समय लाग्ने गरेको थियो । यस पटक प्रशासनिक प्रक्रियालाई चुस्त बनाउँदै छोटो अवधिमै काम सम्पन्न गरिएको हो ।’

विगतमा नतिजा ढिलो आउँदा विश्वविद्यालयको भर्ना, कक्षा सञ्चालन र परीक्षासमेत पछाडि धकेलिने गरेको उल्लेख गर्दै उहाँले यस पटक सहज हुने बताउनुभयो । कक्षा १२ को नतिजा छिटो सार्वजनिक भएका कारण अब विश्वविद्यालयलाई पनि समयमै परीक्षा लिन र नतिजा प्रकाशन गर्न मद्दत पुगेको छ । त्रिभुवन विश्वविद्यालयलगायतका अन्य विश्वविद्यालयले यस वर्षदेखि भर्ना र पठनपाठनको कार्यतालिका अगाडि नै सुरु गर्ने तयारी गरिसकेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो । बोर्डले दुई विषयमा ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका परीक्षार्थीका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार