असार ६, २०८३ शनिबार June 20, 2026

नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा

स्वास्थ्यको कारण देखाउँदै सक्रिय राजनीतिबाट बिदा लिएर साधारण सदस्य मात्रै हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ६ गते । पूर्वसभामुख एवं नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गर्नुभएको छ । आफ्नो ७० औँ वर्ष प्रवेश अवसरमा स्वास्थ्यको कारण देखाउँदै सक्रिय राजनीतिबाट बिदा लिएर साधारण सदस्य मात्रै हुने विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ ।

तत्कालीन माओवादी जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका महराले स्वास्थ्यका कारण सक्रिय हुन नसकेकाले ४८ वर्षदेखिको राजनीतिक जीवनबाट बिदा लिएको उल्लेख गर्नुभएको छ । महराले नियमित उपचार, थेरापी र औषधी सेवन गर्नुपर्ने भएकाले युवालाई अघि सार्न पनि बिदा लिनु परेको बताउनुभएको छ । पार्टीमा कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलन कारण नभई केवल स्वास्थ्य अवस्थाले सक्रिय राजनीतिबाट बिदा लिएको महराले प्रस्ट पार्नुभएको छ ।

महरा २०४८ सालको संसदीय निर्वाचनमा रोल्पाबाट निर्वाचित हुनुभएको थियो । तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । २०६२/६३ सालको जनआन्दोलनपछि अन्तरिम विधायकदेखि २०६४ सालमा रोल्पाबाट, २०७० साल र २०७४ साल दाङबाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । महरा गृह, अर्थ, परराष्ट्र, सञ्चारसहित सात पटक मन्त्री हुनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया