काठमाडौंः जनस्वास्थ्य सम्बन्धी मादपण्ड पूरा गरी विद्यालय तथा शैक्षिक संस्थाहरुलाई सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने भएको छ ।
परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले शैक्षिक संस्थाहरूलाई परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बुधबार उक्त जानकारी दिइएको हो ।
सरकारका प्रवक्ता ज्ञवालीले दिएको जानकारी अनुसार जनस्वास्थ्य सम्बन्धी सबै मादपण्ड पूरा गरी विद्यालय तथा सबै शैक्षिक संस्थाहरुलाई सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय सरकारले गरेको बताए । त्यसै गरी २५ जनासम्म सहभागी गराएर व्यवसायिक तालिम प्रदायक संघ संस्थालाई तालिम सुचारु गर्ने अनुमति पनि सरकारले दिएको छ ।
साथै शिक्षक सेवा आयोगको अध्यक्ष तथा एक जना महिला सदस्यको कार्यकाल सकिएकाले लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयको सचिव सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने निर्णय पनि सरकारले गरेको छ ।
सोहीअनुसार २०७७ वैशाख १४ गतेदेखि स्थगित राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरुको पदपूर्ति सम्बन्धी प्रक्रियालाई सुचारुको अनुमति पनि सरकारले दिएको छ । मन्त्रिपरिषदको पछिल्लो बैठक असोज १९ गते सोमबार बसेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया