काठमाण्डाैंः कामदार अभाव र लकडाउनका कारण निर्माण कार्य सुस्ताएको नागढुंगा–धादिङको सिस्ने खोला जोड्ने सुरुङमार्गले अर्का साताबाट पूर्ण रुपमा गति लिने भएको छ । जापानबाट प्राविधिकसहितको टोली आएसँगै निर्माण कार्यले गति लिने भएको हो ।
सुरुङमार्ग खन्नको लागि निर्माणस्थलसम्म पहुँच मार्ग, खोलामा बेग्लै कल्भर्ट बनाउने काम भइरहेको सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए । उनले भने, “तोकिएभन्दा करिब साढे ३ महिना ढिलो काम सुरु भए पनि आयोजना लयमा नै छ, यसै हप्ता प्राविधिकसहितको जापानी टोली आएसँगै सुरुङको खन्ने काम अर्का साताबाट सुरु हुनेछ ।”
हाल २५० प्राविधिक जनशक्ति आयोजनास्थलमा खटिरहेका छन् । यही साता आएको जापानी टाली हाल क्वारेन्टाइनमा बसिरहेको र पीसीआर रिपोर्ट नेगेटिभ आएपछि आयोजनामास्थलमा खटिने जनाइएको छ ।
जापानको निर्माण कम्पनी हाज्मा एन्दो करपोरेसन्सले निर्माणको जिम्मा लिएको सुरुङमार्गको धादिङ क्षेत्रमा पहिले र त्यसको दुई हप्ताको अन्तरमा काठमाडौंतर्फको भागमा पनि खन्ने काम थालिने महाशाखाका प्रमुख थापाले बताए । सुरुङमार्ग निर्माणका लागि निर्माण सामग्री बालुवा धादिङको महादेववेसीबाट ल्याउने र ढुंगा, गिट्टीको लागि सुरुङमार्गबाट निस्किएको ढुंगा नै उपयोग गर्ने योेजना रहेको छ ।
ड्रिलिङ एन्ड ब्लास्टिङ प्रविधिबाट निर्माण गर्ने लागिएको सुरुङमार्गको लागि होल खन्न जम्बो ड्रिल मेसिन ४ थान, लोडर मेसिन ट्रिपर लगायतका मेसिन प्रयोग हुनेछ ।
सबै उपकरण आयात भइसकेको र ब्लास्टको लागि ९ सय टन विष्फोटक आवश्यक पर्नेमा ३ सय टन बाहिरबाट आयात गरिएको छ । बाँकी विष्फोटक पदार्थ खन्ने काम हुँदै गर्दा नेपाली सेनाले उत्पादन गर्दै गर्ने र पछि गुणस्तर मापन गरेर स्वदेशी विस्पोटक पदार्थ प्रयोग गर्ने योजाना अगाडि सारिएको छ । काराेवार दैनिकमा खबर छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया