काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल संयुक्त राष्ट्रसङ्घ (यूएन) अन्तर्गत आयोजना हुने अन्तर्राष्ट्रिय प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन भोली (आइतबार, असार २१) अमेरिका प्रस्थान गर्दैछन्।
उहाँहरू साँझ ६ बजे कतार एयरवेजको नियमित उडानमार्फत अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ। संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजना हुने United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी हुन नेपालका दुवै सुरक्षा निकायका प्रमुख एकैसाथ विदेश भ्रमणमा जान लागेका हुन्।
संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना अभियान (Peacekeeping) मा संलग्न तथा सदस्य राष्ट्रका प्रहरी संगठनबीच अनुभव आदान–प्रदान, समकालीन सुरक्षा चुनौती, अन्तर्राष्ट्रिय अपराध नियन्त्रण, शान्ति स्थापना अभियानको प्रभावकारिता तथा प्रहरी नेतृत्वको सुदृढीकरणलगायत विषयमा केन्द्रित रहने उक्त सम्मेलन करिब एक सातासम्म सञ्चालन हुनेछ।
सम्मेलनमा विश्वभरका प्रहरी संगठनका प्रमुख, संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारी तथा सुरक्षा विज्ञहरूको सहभागिता रहनेछ। नेपालका तर्फबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूले शान्ति स्थापना अभियानमा नेपालको योगदान, अन्तर्राष्ट्रिय सहकार्य तथा आधुनिक प्रहरी व्यवस्थापनसम्बन्धी अनुभव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना अभियानमा सक्रिय योगदान गर्ने प्रमुख मुलुकहरूमध्ये एक भएकाले यस सम्मेलनमा नेपालको सहभागितालाई विशेष महत्वका साथ हेरिएको छ। सम्मेलनले अन्तर्राष्ट्रिय सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने, प्रहरी नेतृत्वबीच समन्वय बढाउने तथा भावी सुरक्षा रणनीतिबारे साझा दृष्टिकोण विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
दुवै प्रहरी प्रमुखको टोली UNCOPS को एकहप्ते कार्यक्रम सम्पन्न गरी असार ३१ गते बुधबार स्वदेश फर्कने कार्यतालिका रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया