हङकङ। विश्वकै सबैभन्दा ठूलो स्वयंसेवी सेवामूलक संस्था लायन्स क्लब्स इन्टरनेसनलले आगामी लायन वर्ष २०२६/२७ का लागि नयाँ अन्तर्राष्ट्रिय नेतृत्व चयन गरेको छ। हङकङमा सम्पन्न हुँदै गरेको १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनबाट मार्क लियोन अन्तर्राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन्। जुलाई ३ देखि ७ तारिखसम्म सञ्चालन भएको पाँचदिने सम्मेलन मङ्गलबार औपचारिक रूपमा समापन हुँदैछ।
विश्वभरका २१० भन्दा बढी देश तथा भौगोलिक क्षेत्रबाट सहभागी भएका हजारौँ लायन्स प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न सम्मेलनले नयाँ नेतृत्व चयनसँगै आगामी दुई वर्षका लागि संस्थाको सेवा अभियान, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय सहकार्यका प्राथमिकतासमेत तय गरेको छ।
नवनिर्वाचित अध्यक्ष मार्क लियोनसँगै डा. मनोज शाह अन्तर्राष्ट्रिय प्रथम उपाध्यक्ष, टोनी बेनबो दोस्रो अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा सी. रोबर्ट रेट्बी तेस्रो अन्तर्राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन्। नयाँ नेतृत्व टोलीले अब विश्वभर फैलिएको लायन्स नेटवर्कलाई थप सशक्त, एकताबद्ध र सेवामुखी बनाउने जिम्मेवारी सम्हाल्नेछ।
लायन वर्ष २०२६/२७ का लागि ‘Rooted in Service’ (सेवामै हाम्रो जग) भन्ने मूल नारा सार्वजनिक गरिएको छ। यस नाराले लायन्सको मूल मूल्य–मान्यता, समुदायप्रतिको समर्पण र निःस्वार्थ सेवाको भावनालाई थप मजबुत बनाउने उद्देश्य लिएको जनाइएको छ। नयाँ नेतृत्वले विशेषगरी सदस्यता वृद्धि, युवा नेतृत्व विकास, आधुनिक प्रविधिको उपयोग, वातावरण संरक्षण, स्वास्थ्य सेवा, शिक्षा, भोकमरी न्यूनीकरण, दृष्टि संरक्षण, विपद् राहत तथा मानवीय सेवाका कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने लक्ष्य अघि सारेको छ।
करिब १४ लाख सदस्य रहेको लायन्स क्लब्स इन्टरनेसनल विश्वका सबैभन्दा ठूलो सेवामूलक संस्थामध्ये एक हो। संस्थाले विश्वभर २१० भन्दा बढी देश तथा भौगोलिक क्षेत्रमा स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन, दृष्टि संरक्षण, बाल क्यान्सर नियन्त्रण, मधुमेह सचेतना, भोकमरी न्यूनीकरण, युवा सशक्तीकरण तथा विभिन्न मानवीय सेवामूलक अभियान सञ्चालन गर्दै आएको छ।
हङकङ सम्मेलनले विश्वभरका लायन्स नेताहरूबीच अनुभव आदानप्रदान, सेवा परियोजनाको समीक्षा, अन्तर्राष्ट्रिय सहकार्य विस्तार तथा भावी रणनीति तय गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकहरूले बताएका छन्। सम्मेलनका क्रममा विभिन्न देशका उत्कृष्ट सेवा परियोजना, नेतृत्व विकास कार्यक्रम तथा मानवीय योगदानलाई पनि सम्मान गरिएको थियो।
नवनिर्वाचित अन्तर्राष्ट्रिय अध्यक्ष मार्क लियोन तथा सम्पूर्ण नेतृत्व टोलीलाई विश्वभरका लायन्स सदस्यहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्। नयाँ नेतृत्वले ‘Rooted in Service’ को भावनालाई व्यवहारमा उतार्दै विश्वभरका समुदायमा अझ प्रभावकारी, दिगो र परिणाममुखी सेवा अभियान सञ्चालन गर्ने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया