काठमाडौं, २५ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षाशास्त्र केन्द्रीय विभागद्वारा शिक्षण अभ्यास कार्यक्रममा संलग्न स्नातकोत्तर तह चौथो सेमेस्टरका विद्यार्थीहरूका लागि शिक्षण अभ्यास अभिमुखीकरण कार्यक्रम–२०८३ बिहीबार कीर्तिपुरस्थित त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभागको अडिटोरियम हलमा सम्पन्न भएको छ।
बिहिबार बिहान ११ः१५ बजेदेखि अपराह्न ३ः०० बजेसम्म सञ्चालन भएको कार्यक्रममा शिक्षण अभ्यासलाई प्रभावकारी, व्यवस्थित र व्यावसायिक बनाउने विषयमा विद्यार्थीहरूलाई आवश्यक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा शिक्षाशास्त्र केन्द्रीय विभागका प्रमुखको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा विभागका प्राध्यापक, विषयगत विभागीय प्रमुखहरू, व्यवस्थापन समितिका सदस्य, सहयोगी विद्यालयका प्रतिनिधि तथा स्नातकोत्तर तह चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।
अभिमुखीकरणको पहिलो सत्रमा प्रा. डा. नारायणप्रसाद पौडेलले “शिक्षण अभ्यासमा संलग्न हुँदा पालना गर्नुपर्ने आधारभूत कार्य” विषयमा सहजीकरण गर्दै विद्यालयमा शिक्षण अभ्यासका क्रममा अपनाउनुपर्ने व्यावसायिक आचरण, पाठ योजना निर्माण, कक्षाकोठा व्यवस्थापन, समय व्यवस्थापन तथा विद्यार्थीमैत्री शिक्षण विधिबारे जानकारी गराएका थिए।
त्यसैगरी दोस्रो सत्रमा देवीप्रसाद भट्टराईले “सिकाइ तथा अतिरिक्त कार्य” विषयमा प्रस्तुति दिँदै शिक्षण अभ्यासका क्रममा सिकाइ उपलब्धि अभिवृद्धि, सह–पाठ्यक्रियात्मक गतिविधि, प्रतिवेदन लेखन तथा विद्यालयसँग समन्वयका विषयमा विद्यार्थीलाई अभिमुखीकरण गराएका थिए।
कार्यक्रमको समापन सत्रमा प्रा. डा. नारायणप्रसाद बेलबासेले धन्यवाद ज्ञापन गर्दै शिक्षण अभ्यास विश्वविद्यालयीय अध्ययनको अत्यन्त महत्वपूर्ण पक्ष भएकाले यसलाई जिम्मेवारीपूर्वक, अनुशासित र सिर्जनात्मक रूपमा सम्पन्न गर्न विद्यार्थीलाई आग्रह गरे।
शिक्षाशास्त्र केन्द्रीय विभाग अन्तर्गत शिक्षण विभाग प्रमुख दिनेश घिमिरेले अभिमुखीकरण कार्यक्रमले शिक्षण अभ्यासमा जाने विद्यार्थीलाई विद्यालयमा आवश्यक पर्ने व्यावहारिक ज्ञान, पेशागत दक्षता र जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास दिलाए । आगामी दिनमा पनि यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाई छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया