काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) ले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी सभाको बैठक बोलाएको छ । कार्यविभाजन र पार्टी समायोजनको काम टुङ्ग्याउने विषयमा आगामी कात्तिक ३ र ४ गते कार्यकारिणी सभाको बैठक बोलाइएको हो ।
बैठकले कार्यविभाजन र समायोजनको बाँकी काम टुङ्ग्याउने तयारी रहेको जसपा कार्यकारिणी सभा सदस्य केशव झाले जानकारी दिए । पार्टीको विधान संशोधन, केन्द्रीय समिति र संघीय परिषद्को विस्तार, समिति तथा संघीय परिषदको कार्य विभाजनसँगै समायोजनका बाँकी विषयमा बैठकमा छलफल हुने झाले बताए ।
तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेका छन् । संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भइसकेपछि केन्द्रीय समितिको कार्यविभाजन, प्रदेश समिति सहित स्थानीय तह र भ्रातृ संस्थाको समायोजन हुन बाँकी रहेको छ ।
गत शनिबार मात्रै अध्यक्ष ठाकुर र वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले पार्टीको आगामी रणनीति र कार्यविभाजन कसरी गर्न सकिन्छ भन्ने बारेमा पार्टी सम्बद्ध बुद्धिजीवीसँग छलफल गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया