काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशीका रूपमा श्रद्धापूर्वक मनाउने गर्छन् । पौष शुक्ल पक्षको एकादशीलाई जस्तै श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिने धार्मिक परम्परा छ ।
पद्म पुराणलगायत धर्मग्रन्थमा पुत्रदा एकादशीको व्रतलाई विशेष फलदायी मानिएको छ । धार्मिक विश्वासअनुसार सांसारिक सुख–समृद्धि, पारिवारिक कल्याण तथा सन्तान प्राप्तिको कामनासहित यो व्रत बस्ने गरिन्छ । विशेषगरी सन्तानको चाहना राख्ने दम्पती तथा सन्तानविहीन व्यक्तिले श्रद्धापूर्वक व्रत बसेमा मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
धर्मशास्त्रमा उल्लेख भएअनुसार प्राचीनकालमा भद्रावतीपुरी नामको नगरमा राजा सुकेतुमानले शासन गर्थे । राज्यमा सुख, शान्ति र समृद्धि भए पनि राजाका सन्तान थिएनन् । उत्तराधिकारी नहुँदा राजा तथा राजपरिवार चिन्तित थिए ।
सन्तान नहुनुको पीडाले व्याकुल राजा एक दिन घोडा चढेर वनतर्फ निस्किए । घुम्दै जाँदा उनी घना जङ्गलभित्र पुगे । लामो यात्राका कारण थकित र तिर्खाएका राजा पानीको खोजी गर्दै अझ भित्रतर्फ लागे ।
केही पर पुगेपछि उनले एउटा सुन्दर सरोवर देखे । सरोवर आसपास ऋषिमुनिहरू आश्रम बनाएर वेदपाठ तथा धार्मिक अनुष्ठान गरिरहेका थिए । राजाले घोडाबाट ओर्लिएर सरोवरको पानी पिए र ऋषिमुनिहरूलाई नमस्कार गरे ।
त्यसपछि उनले ऋषिमुनिहरूसँग त्यहाँ एकत्रित हुनुको कारण सोधे । ऋषिहरूले पुत्रदा एकादशी नजिकिएकाले स्नान, पूजा तथा व्रतका लागि भेला भएको जानकारी दिए ।
राजाले पुत्रदा एकादशीको व्रत र यसको फलका विषयमा जिज्ञासा राखेपछि ऋषिमुनिहरूले विधिपूर्वक व्रत बसेमा सन्तान प्राप्तिको कामना पूरा हुने धार्मिक महत्त्व सुनाए ।
ऋषिमुनिहरूको सुझावअनुसार राजा सुकेतुमानले श्रद्धापूर्वक पुत्रदा एकादशीको व्रत बसे । पौराणिक कथाअनुसार व्रतको प्रभावले पछि उनलाई पुत्र प्राप्ति भयो । यही प्रसङ्गका कारण पुत्रदा एकादशीलाई सन्तान प्राप्तिको कामनासँग विशेष रूपमा जोडेर हेर्ने गरिएको छ ।
पुत्रदा एकादशीको व्रत बस्नेहरूले दशमी तिथिदेखि नै सात्विक आहार ग्रहण गर्ने धार्मिक मान्यता छ । लसुन, प्याज, मांसाहारी भोजन तथा मदिराजन्य पदार्थ त्यागेर शुद्ध आचरणमा रहनुपर्ने बताइन्छ ।
एकादशीका दिन बिहान सबेरै उठेर स्नान गरी शुद्ध वस्त्र धारण गरेर व्रतको सङ्कल्प लिने परम्परा छ । यस दिन भगवान् विष्णुको विशेष पूजा आराधना गरिन्छ । कतिपय स्थानमा विष्णुको बालगोपाल स्वरूप स्थापना गरी पूजा गर्ने चलनसमेत छ ।
भगवान् विष्णुको प्रतिमा वा तस्बिरलाई पञ्चामृतले स्नान गराई धूप, दीप, नैवेद्य, फूल तथा फलफूल अर्पण गरिन्छ । नरिवल, पान, सुपारी र ल्वाङलगायत सामग्री चढाएर पूजा गर्ने परम्परा पनि रहेको छ ।
व्रतालुहरू दिनभर उपवास बसेर भगवान् विष्णुको नामस्मरण, भजन–कीर्तन तथा धार्मिक ग्रन्थ पाठ गर्ने गर्छन् । एकादशीको भोलिपल्ट द्वादशी तिथिमा भगवान् विष्णुलाई अर्घ्य अर्पण गरी पूजा सम्पन्न गरेपछि पारायण गरेर व्रत समापन गरिन्छ ।
धार्मिक मान्यताअनुसार श्रद्धा, संयम र सत्कर्मसहित पुत्रदा एकादशीको व्रत बसेमा पारिवारिक सुख, सन्तानको कल्याण तथा मनोकामना पूरा हुने विश्वास छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया