असोज ६, २०८३ मंगलबार September 22, 2026

‘लायन्स डिस्ट्रिक्ट ३२५ के’ नेपालको नयाँ सदस्य अभिमुखीकरण सम्पन्न

सदस्यता वृद्धि र नेतृत्व विकासमा लायन्स ३२५ केको छलाङ, दुई महिनामै ४२ नयाँ क्लब चार्टर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के, नेपालले नयाँ सदस्यहरूलाई लायन्सको इतिहास, उद्देश्य, सेवा गतिविधि, संगठनात्मक संरचना तथा नेतृत्वको भूमिकाबारे जानकारी गराउने उद्देश्यले आयोजना गरेको नयाँ सदस्य अभिमुखीकरण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।

स्काई रेष्ट्रो एण्ड ब्याङ्क्वेट काठमाण्डौंमा आयोजित कार्यक्रममा नयाँ सदस्यहरूलाई लायन्सको इतिहासदेखि वर्तमान संगठनात्मक अवस्था, नेतृत्व विकास, सदस्यको जिम्मेवारी तथा समुदायमा प्रभावकारी सेवा पुर्‍याउने विभिन्न उपायबारे विस्तृत प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारी, पूर्व अन्तर्राष्ट्रिय निर्देशक (पीआईडी) बालकृष्ण बुर्लाकोटी, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर विष्णुहरि फुँयाल, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर हसनकुमार गोपाली, क्याबिनेट सेक्रेटरी गणेश जिसी, डिस्ट्रिक्ट ट्रेजरर चुडामणि सिलवाल, पीआरओ–इन–चिफ सुरेन्द्रबाबु श्रेष्ठ, मिशन १.५ चिफ महाप्रसाद पाण्डेयलगायत डिस्ट्रिक्टका क्याबिनेट पदाधिकारी, अफिसर्स लगायत विभिन्न क्लबका पदाधिकारी तथा नयाँ सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अभिमुखीकरणमा विशेषगरी पीआईडी बालकृष्ण बुर्लाकोटी, पीआरओ–इन–चिफ सुरेन्द्रबाबु श्रेष्ठ तथा मिशन १.५ चिफ महाप्रसाद पाण्डेयले सहजीकरण तथा प्रशिक्षण दिएका थिए।

लायन्सको छवि नेतृत्वको व्यवहारबाट निर्माण हुन्छ : पीआईडी बुर्लाकोटी

पूर्व अन्तर्राष्ट्रिय निर्देशक पीआईडी बालकृष्ण बुर्लाकोटीले लायन्सको विश्वव्यापी पहिचान र प्रतिष्ठा निर्माणमा प्रत्येक सदस्यको भूमिका महत्वपूर्ण हुने बताए। उनले लायन्सको छवि केवल अन्तर्राष्ट्रिय तहका कार्यक्रमबाट नभई क्लब, सदस्य र नेतृत्वले समुदायमा गर्ने व्यवहार तथा सेवाबाट निर्माण हुने धारणा राखे।

May be an image of one or more people and textउनले डिस्ट्रिक्ट ३२५ के, नेपाललाई अझ व्यवस्थित, अनुशासित, प्रभावकारी र उच्चस्तरको डिस्ट्रिक्टका रूपमा स्थापित गर्न नेतृत्वदेखि साधारण सदस्यसम्म सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।

बुर्लाकोटीले लायन्सको अन्तर्राष्ट्रिय पहिचानलाई कायम राख्दै नेपालमा सञ्चालन हुने सेवामूलक गतिविधिलाई पनि गुणस्तरीय र परिणाममुखी बनाउनुपर्ने बताए। उनका अनुसार एउटा क्लबको गतिविधिले क्लबको मात्र नभई सम्बन्धित डिस्ट्रिक्ट र समग्र लायन्सको छविलाई समेत प्रतिनिधित्व गर्ने भएकाले सदस्यहरूले आफ्नो जिम्मेवारी र व्यवहारप्रति सचेत हुन आवश्यक छ।

May be an image of one or more people and textउनले नयाँ सदस्यहरूलाई पद प्राप्त गर्नुभन्दा पहिले सेवाको भावना, संगठनप्रतिको निष्ठा र नेतृत्वको संस्कार विकास गर्न आग्रह गर्दै लायन्सको मूल उद्देश्यलाई व्यवहारमा उतार्न सके मात्रै संगठनको प्रतिष्ठा थप उचाइमा पुग्ने बताए।

२१० राष्ट्रमा फैलिएको लायन्सको इतिहास बुझ्न आवश्यक : पीआरओ-इन-चिफ श्रेष्ठ

पीआरओ–इन–चिफ सुरेन्द्रबाबु श्रेष्ठले लायन्स क्लबको स्थापनादेखि वर्तमानसम्मको विश्वव्यापी यात्राबारे जानकारी गराउँदै लायन्स आज विश्वका २१० राष्ट्र तथा भौगोलिक क्षेत्रमा सेवाका गतिविधि सञ्चालन गर्ने ठूलो स्वयंसेवी अभियानका रूपमा स्थापित भएको बताए।

May be an image of lighting, speaker, dais and textउनले लायन्स स्थापनाको मूल उद्देश्यदेखि विभिन्न कालखण्डमा संगठनले शिक्षा, स्वास्थ्य, दृष्टिविहीनता न्यूनीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, भोकमरी न्यूनीकरण तथा मानवीय सेवामा पुर्‍याउँदै आएको योगदानबारे चर्चा गरे।

श्रेष्ठले लायन्सको विस्तारसँगै यसको जिम्मेवारी पनि बढ्दै गएको उल्लेख गर्दै नयाँ सदस्यहरूले संस्था किन स्थापना भयो, यसको मूल उद्देश्य के हो र विश्वभर लायन्सले कस्तो भूमिका निर्वाह गरिरहेको छ भन्ने कुरा बुझ्न आवश्यक रहेको बताए।

May be an image of one or more people and textउनले लायन्सको सदस्य हुनु भनेको केवल एउटा क्लबको सदस्य बन्नु नभई विश्वव्यापी सेवामूलक अभियानको हिस्सा बन्नु भएको उल्लेख गर्दै नयाँ सदस्यलाई सक्रिय र जिम्मेवार स्वयंसेवकका रूपमा अघि बढ्न आग्रह गरे।

सदस्य वृद्धि र क्लब विस्तारमा डिस्ट्रिक्ट ३२५ केको उल्लेख्य प्रगति : पाण्डेय

मिशन १.५ चिफ महाप्रसाद पाण्डेयले विश्व लायन्सको संरचना र अभियानदेखि नेपालमा लायन्सको विकास तथा डिस्ट्रिक्ट ३२५ केको वर्तमान संगठनात्मक अवस्थासम्मका विषयमा विस्तृत जानकारी गराए।

उनले पछिल्लो समय डिस्ट्रिक्ट ३२५ के, नेपालले सदस्य वृद्धि र नयाँ क्लब विस्तारमा उल्लेख्य प्रगति गरेको दाबी गर्दै नेपालभर रहेका १५ वटा डिस्ट्रिक्टमध्ये ३२५ केलाई वर्तमान अवस्थामा पहिलो स्थानमा रहेको बताए।

May be an image of one or more people, speaker, dais and textपाण्डेयका अनुसार सदस्यता वृद्धिको अभियानअन्तर्गत डिस्ट्रिक्ट ३२५ के नेपालले एलसिआइएफतर्फ ५१ हजार अमेरिकी डलरभन्दा बढी योगदान पुर्‍याएको छ। त्यस्तै, छोटो अवधिमै नयाँ क्लब स्थापनामा समेत उल्लेख्य सफलता हासिल भएको उनले जानकारी दिए।

उनका अनुसार दुई महिनाको अवधिमा ४२ वटा नयाँ क्लब चार्टर गरेर नेपालमै नयाँ इतिहास कायम गरिएको छ। तीमध्ये ३७ वटा नयाँ क्लबको स्वीकृति प्राप्त भइसकेको र थप पाँच वटा क्लबको स्वीकृतिका लागि प्रक्रिया अघि बढाइएको समेत बताए।

पाण्डेयले मिशन १.५ को मुख्य उद्देश्य सदस्यता वृद्धि मात्र नभई सदस्यलाई सक्रिय बनाउने, क्लबलाई बलियो बनाउने, नयाँ क्लब विस्तार गर्ने र लायन्सको सेवाको प्रभाव समुदायसम्म पुर्‍याउने रहेको स्पष्ट पारे।

उनले संगठन विस्तारसँगै अबको चुनौती नयाँ सदस्य थप्नु मात्र नभई उनीहरूलाई क्लबमा टिकाइराख्नु, सक्रिय बनाउनु र नेतृत्वका लागि तयार पार्नु रहेको बताए। त्यसका लागि नयाँ सदस्यले लायन्सको संरचना, प्रक्रिया, जिम्मेवारी र सेवा गतिविधिबारे सुरुदेखि नै स्पष्ट जानकारी पाउनुपर्नेमा उनले जोड दिए।

सदस्यता वृद्धिसँगै गुणस्तरीय सेवा आवश्यक

कार्यक्रममा प्रशिक्षकहरूले पछिल्लो समय लायन्समा सदस्यता वृद्धि र नयाँ क्लब विस्तारले संगठनको आकार बढाए पनि त्यसलाई गुणस्तरीय सेवा र सक्रिय सदस्यतामा रूपान्तरण गर्नु अर्को महत्वपूर्ण चुनौती रहेको बताएका थिए।

नयाँ सदस्यलाई क्लबको बैठकमा सहभागी हुनेदेखि समुदायको आवश्यकता पहिचान गर्ने, परियोजना निर्माण गर्ने, स्रोत परिचालन गर्ने र सेवाको प्रभाव मूल्यांकन गर्ने विषयमा समेत जानकारी आवश्यक रहेको उनीहरूको भनाइ थियो।

May be an image of one or more people, people smiling, flute, violin and crowdलायन्सका गतिविधि केवल औपचारिक कार्यक्रम वा फोटो खिच्ने गतिविधिमा सीमित नभई समुदायले प्रत्यक्ष अनुभूति गर्ने परिणाममुखी सेवामा केन्द्रित हुनुपर्ने प्रशिक्षकहरूले बताएका थिए।

May be an image of one or more people and daisशिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, भोकमरी न्यूनीकरण, मानवीय सहायता तथा सामाजिक सचेतनाका क्षेत्रमा स्थानीय आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गर्न नयाँ सदस्यलाई आग्रह गरिएको थियो।

नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने उद्देश्य

कार्यक्रममा डिस्ट्रिक्ट नेतृत्वले नयाँ पुस्ताका सदस्यलाई आगामी दिनमा लायन्सको नेतृत्वका लागि तयार पार्ने विषयलाई समेत प्राथमिकतामा राखेको थियो।

सहभागीहरूलाई क्लब नेतृत्वदेखि डिस्ट्रिक्ट नेतृत्वसम्मको संरचना, जिम्मेवारी, नेतृत्व विकास, सञ्चार, सदस्य व्यवस्थापन तथा सेवामूलक परियोजना सञ्चालनका विषयमा जानकारी दिइएको थियो।

May be an image of one or more people, people studying, crowd and textप्रशिक्षकहरूले लायन्सको भविष्य नयाँ सदस्यको सक्रियता र नेतृत्व क्षमतामा निर्भर रहेको उल्लेख गर्दै नयाँ सदस्यलाई अवसर, जिम्मेवारी र प्रशिक्षण प्रदान गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका सहभागीहरूले अभिमुखीकरणले आफूहरूलाई लायन्सको इतिहास, उद्देश्य र संगठनात्मक संरचना बुझ्न मात्र नभई आफ्नो क्लब तथा समुदायप्रतिको जिम्मेवारीसमेत स्पष्ट पार्न सहयोग पुगेको बताएका छन्।

May be an image of one or more people, speaker, crowd, dais and textडिस्ट्रिक्ट ३२५ के, नेपालले पछिल्लो समय सदस्यता विस्तार, नयाँ क्लब स्थापना, नेतृत्व विकास तथा सेवाका क्षेत्रमा अघि बढाइरहेको अभियानलाई अझ प्रभावकारी बनाउन यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रमले डिस्ट्रिक्ट ३२५ के नेपालको संगठन विस्तारसँगै नेतृत्व विकास, सदस्यको क्षमता अभिवृद्धि, सेवाको गुणस्तर र लायन्सको सकारात्मक छवि निर्माण गर्ने अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया