असोज ६, २०८३ मंगलबार September 22, 2026

आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

वन क्षेत्र संरक्षणसँगै जिल्लामा वन्यजन्तुको उद्धार तथा राहतका गतिविधि सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ), ६ असोजः तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको छ । वन पैदावारको उपयोग तथा सामुदायिक वनमार्फत आर्थिक उन्नयनको काम अगाडि बढेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाको वन क्षेत्रबाट रु १७ करोड २३ लाख ४५ हजार १२२ बराबरको कारोबार भएको छ ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार वन क्षेत्रको संरक्षणसँगै वन पैदावारको व्यवस्थित उपयोग र सामुदायिक वनको सक्रियताका कारण आर्थिक कारोबारमा उल्लेख्य योगदान पुगेको हो । वनलाई संरक्षणका क्षेत्रका रूपमा मात्रै नभई स्थानीय समुदायको आयआर्जन र रोजगारीका आधारका रूपमा विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको रानाभाटले बताउनुभयो ।

तनहुँमा १२२ वटा सामुदायिक वनमार्फत वन व्यवस्थापन तथा संरक्षणका गतिविधि सञ्चालन हुँदै आएका छन् । सामुदायिक वनबाट प्राप्त आम्दानी सम्बन्धित वन समूहका उपभोक्ताको हितमा खर्च गर्नुपर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ । वनबाट प्राप्त आम्दानीलाई वन संरक्षण, विकास, सामाजिक तथा सामुदायिक हितका काममा परिचालन गर्नुपर्नेमा कार्यालयले जोड दिएको छ ।

८७ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी

वन क्षेत्रले रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याएको कार्यालयले जनाएको छ । आव २०८२/८३ मा वनसम्बन्धी विभिन्न गतिविधिमार्फत ८७ हजार ८४९ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । वन व्यवस्थापन, वन पैदावार सङ्कलन तथा उपयोग, पोल थिनिङ, वन डढेलो नियन्त्रण, वृक्षरोपणलगायतका गतिविधिमा स्थानीय जनशक्तिको प्रयोग हुँदा रोजगारीका अवसर सिर्जना भएको कार्यालयले जनाएको छ ।

वन व्यवस्थापनअन्तर्गत आवश्यकताका आधारमा वन क्षेत्रको सुधार, घना भएका क्षेत्रमा ‘पोल थिनिङ’ तथा वनको उत्पादनशीलता बढाउने कामलाई प्राथमिकता दिइएको छ । वन क्षेत्रलाई दीर्घकालीन रूपमा उत्पादनशील र दिगो बनाउन वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापन आवश्यक रहेको रानाभाटले बताउनुभयो ।

१८ हेक्टरमा वृक्षरोपण

कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा १८ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरेको छ । वन क्षेत्रको संरक्षण तथा विस्तारसँगै वातावरणीय सन्तुलन कायम गर्न वृक्षरोपण गरिएको हो ।

वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षण र हुर्काउने कार्यलाई प्राथमिकतामा राखिएको छ । वन क्षेत्रको विस्तारले भू–क्षय नियन्त्रण, जलाधार संरक्षण, जैविक विविधताको संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको रानाभाटले बताउनुभयो ।

सुक्खायाममा हुने वन डढेलो नियन्त्रणका लागि पनि कार्यालयले विभिन्न गतिविधि सञ्चालन गरेको छ । वन डढेलोबाट वन क्षेत्र, वन्यजन्तु तथा जैविक विविधतामा हुने क्षति न्यूनीकरण गर्न स्थानीय समुदाय तथा सामुदायिक वन समूहको सहकार्यमा नियन्त्रणका काम अघि बढाइएको हो ।

डढेलो नियन्त्रणका लागि पूर्वतयारी, सचेतना तथा आवश्यकताअनुसार नियन्त्रणका गतिविधि सञ्चालन गरिएको कार्यालयले जनाएको छ । वन डढेलो नियन्त्रणमा स्थानीय समुदायको सहभागिता महत्वपूर्ण हुने भएकाले सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिय बनाइएको छ ।

वन क्षेत्र संरक्षणसँगै जिल्लामा वन्यजन्तुको उद्धार तथा राहतका गतिविधि सञ्चालन भएका छन् । मानव बस्तीमा प्रवेश गरेका, घाइते अवस्थामा भेटिएका वा जोखिममा परेका वन्यजन्तुको उद्धार गरी आवश्यक व्यवस्थापन तथा उपचारको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

तीन हेक्टरमा रुद्राक्षको पकेट क्षेत्र

वन तथा कृषि क्षेत्रलाई जोडेर आयआर्जन बढाउने उद्देश्यले तनहुँमा रुद्राक्षको पकेट क्षेत्र स्थापना गरिएको छ । कार्यालयका अनुसार तीन हेक्टर क्षेत्रफलमा रुद्राक्षको पकेट क्षेत्र स्थापना गरिएको हो ।

रुद्राक्षखेतीलाई व्यावसायिक रूपमा अघि बढाउन सकिए स्थानीयस्तरमा आयआर्जनको अवसर सिर्जना हुनुका साथै वन तथा गैरकाष्ठ वन पैदावारको क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्न सकिने रानाभाटको भनाइ छ ।

त्यस्तै, जिल्लामा आठ नमुना सामुदायिक वन स्थापना गरिएको छ । नमुना सामुदायिक वनमार्फत वन संरक्षण, व्यवस्थापन, वन पैदावारको दिगो उपयोग तथा समुदायको सहभागितालाई प्रभावकारी बनाउने उदेश्य राखिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गिलुङको १५ शय्याको अस्पताल पाँच वर्षदेखि अलपत्र, १३.३७ प्रतिशत मात्रै काम
२०८३ असोज ६, मंगलबार
आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार
२०८३ असोज ६, मंगलबार
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
२०८३ असोज ६, मंगलबार
परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोग्बेबीच न्यूयोर्कमा भेटवार्ता
२०८३ असोज ६, मंगलबार
हरिपरिवर्तिनी एकादशी आज, भगवान विष्णुको पूजा–आराधना गरिँदै
२०८३ असोज ६, मंगलबार
रास्वपा दोलखाले तोक्यो नौ वटै पालिकामा संयोजक
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री बालेन आज राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क जाँनुहुँदै
२०८३ असोज ६, मंगलबार