काठमाडौं । अमेरिकाको न्यूयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा उनीहरूबीच साइडलाइन भेटवार्ता भएको हो ।
भेटका क्रममा प्रधानमन्त्री तोग्बेले नेपालमा हालै आएको बाढीबाट भएको मानवीय क्षति र विनाशप्रति गहिरो दुःख व्यक्त गरेका थिए । उनले विपद्का कारण प्रभावित नेपाली जनताको दुःखमा भुटान सरकार र जनता साथमा रहेको बताएका थिए ।
प्रधानमन्त्री तोग्बेले बाढी प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढ्ने विश्वाससमेत व्यक्त गरेका थिए ।
भेटमा परराष्ट्रमन्त्री खनालले बाढीपछि भुटान सरकारले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले विपद्का बेला भुटानले गरेको सहयोगको नेपाल सरकार र नेपाली जनताले उच्च कदर गरेको बताएका थिए ।
भेटवार्ताका क्रममा नेपाल–भुटान द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो । व्यापार, उड्डयनलगायत पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया