काठमाडौँ, ८ भदौः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका कार्यवाहक राजदूत माथीयास मायरबीच नेपालको शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा नेपाल-स्विट्जरल्याण्डबीचको लामो समयदेखिको सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहकार्य गर्न सकिने क्षेत्रबारे छलफल भएको हो ।
भेटमा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्वीस सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
मन्त्री पोखरेलले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी ऐन अहिले छलफलको क्रममा रहेको जानकारी दिँदै टिभेट क्षेत्रमा सुशासनसहित सुधारका लागि सबै सरोकार भएका निकायसँग निरन्तर छलफल गरेर अघि बढ्ने बताउनुभयो । टिभेट क्षेत्रको व्यवस्थापन र सुशासनमा सुधारसँगै दक्ष जनशक्ति विकासलाई पनि जोड दिइने भन्दै उहाँले यसका लागि स्वीस सरकारसँग थप सहकार्यको आवश्यकता औँल्याउनुभयो ।
कार्यवाहक राजदूत मायरले नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम क्षेत्रमा स्विस सरकारले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजदूत मायरले टिभेट क्षेत्रको सुधारका लागि उद्योग र तालिम प्रदायकबीच प्रभावकारी सम्बन्ध तथा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी नीति निर्माण तुलनात्मक रूपमा प्रभावकारी रहेका उल्लेख गर्दै उहाँले यससम्बन्धी तथ्याङ्कसमेत आफूसँग उपलब्ध रहेकाले आगामी दिनमा थप सुधार हुनेमा विश्वास व्यक्त गर्नुभयो ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया